लिस्बन |
गैर आवासीय नेपाली संघ पोर्चुगलले नेपालीहरुको पासपोर्ट सहजीकरणमा चरम लापरवाही गरेको छ। पोर्चुगलमा रहेका र समस्यामा परेका नेपालीहरुबाट पासपोर्ट सहजिकरणका लागि संकलन गरिएका निबेदनहरु ६-६ महिना बितिसक्दा पनि नेपाली दुतावास पेरिस पुग्न सकेका छैनन्।
पासपोर्ट नबिकरण गर्नुपर्ने, पासपोर्ट हराएकाहरुको नयाँ पासपोर्ट बनाउनुपर्ने वा पोर्चुगलमा सन्तान जन्मिएर नयाँ पासपोर्ट बनाउनुपर्ने आदि समस्यामा परेका नेपालीहरुको पासपोर्ट सहजीकरण गरिदिने काम एनआरएनए पोर्चुगलले गर्दै आएको छ। तर सहजीकरणका नाममा दुःख पाउने नेपालीहरुको लाम पनि त्यत्तिकै लामो छ। पासपोर्टका समस्या भएका कयौ नेपालीहरुको पासपोर्ट प्राप्त गर्न सहजीकरण गरिदिने भन्दै ६ महिना अगाडी संघकै कार्यालयमा बुझेका निबेदनहरु अहिलेसम्म पनि नेपाल दुतावास पेरिस पुग्न सकेका छैनन्।
संघले पासपोर्ट सहजीकरणका लागि प्राप्त गर्ने निवेदक सेवाग्राही नेपालीहरुबाट नयाँ पासपोर्ट वाफतको नेपाल सरकारको दस्तुर शुल्क १२० युरो र पासपोर्ट हराएकाहरुको हकमा २४० युरो संकलन गर्ने गर्दछ, जुन नेपाल दुतावास पेरिसमा बुझाउनुपर्ने हुन्छ । यसका अतिरिक्त संघले सहजीकरण वाफत भन्दै जनही थप १० युरो समेत संकलन गर्ने गर्दछ। समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने भन्दै उनीहरुबाट थप सेवा दस्तुर समेत संकलन गरि महिनौ र बर्षौसम्म दुःख दिने काम संघबाट हुनु चरम लापरवाही र दुःखदायी हुने तर्क पिडितहरु गर्दछन।
आफुले संघका सम्बन्धित व्यक्तिहरुसंग सम्पर्क गर्दा सम्पर्क नै नहुने र सम्पर्क नै भए पनि त्यसको जवाफ नै नआउने पिडितहरुको गुनासो छ। निबेदन दिएर लामो समयदेखि पासपोर्ट कुरेर बसेका सेवाग्राहीको कुरा संघले नसुनेपछि उनीहरुले आफ्नो पिडा र आक्रोश सामाजिक संजालमा पोख्न थालेका छन्।
पासपोर्ट सहजीकरणका नाममा संघले यसैगरी आम सर्वसाधारण नेपालीहरुलाई दुख दिदै २०१५ -२०१७ को कार्यसमितिको नेतृत्वले लुट मच्चाएको थियो। त्यतिबेला पासपोर्ट सहजीकरणको लागि भन्दै पालैपालो संघका पदाधिकारीहरु फ्रान्स घुमेर आउने गर्दथे। भोइस अफ नेपालमा पासपोर्ट सहजीकारणका नाममा नेपालीहरुलाई पिडा भन्दै समाचार प्रकाशित भएपछि त्यसले त्यतिबेला हलचल मात्रै ल्याएन, संघलाई पासपोर्ट सहजीकरणमा नै सम्बन्धित सरकारी निकायले रोक लगाएको थियो।
पोर्चुगलमा महाबाणिज्यदुतावासको कार्यालय छ। पासपोर्ट सहजीकरणको काम महाबाणिज्यदुतावासको कार्यालयले गर्नुपर्ने थियो र यो उसको अधिकारक्षेत्र र कर्तब्य पनि हो , तर महाबाणिज्यदुतावास आफ्नो कर्तब्यबाट बिमुख हुदा संघले सेवाका नाममा लुट मच्चाएको छ।सेवाग्राही नेपालीहरु एकपछि अर्को पिडित हुदै आएका छन्।