लिस्बन।
पोर्चुगलका मनकारी नेपालीहरुले नेपालमा दुबै मृगौला फेल भएका एक नेपालीलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन्।
लमजुङ जिल्ला बेशिसहर नगरपालिका ४ पुरानकोटका कृष्ण विलास ढुंगानालाई पोर्चुगलबाट १ लाख २७ हजार ५५७ रुपैया आर्थिक सहयोग भएको हो। आफ्ना दुवै मृगौला फेल भएपछि उपचारका लागि उनि चितवनको रत्ननगर बस्दै आईरहेका छन्।
करिब दुई बर्ष अगाडी आफ्ना दुवै मृगौला फेल भएपछि उनले आफ्नो आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोगको लागि याचना गरेका थिए। राष्ट्रिय मृगौला केन्द्र चितवनमा आफ्नो डाइलसिस् र उपचार भईरहेको छ।
आर्थिक अवस्था कमजोर भएका कृष्णलाई सहयोग गर्न सहयोगी भावना भएका पोर्चुगल निवासी सुनिल ढुंगानाले आफ्ना साथीभाईहरुसंग कुराकानी गरे। सहयोगी भावना भएका नेपालीहरुले आफ्नो मन खोलेर सहयोग पनि गरे। आफ्ना साथीभाई र सहयोगी नेपालीहरु बाट संकलित भएको उक्त रकम उनले कृष्णको उपचारको लागि नेपाल पठाएका छन्। नेपाल पठाईएको उक्त रकम भोली रत्ननगर नगरपालीका चितवनका प्रमुख नारायण वनको हातबाट पिडीतलाई दिइनेछ।
यसअघि पनि एक बर्ष पहिले ढुंगानाकै पहलमा ब्लड क्यान्सर भएर उपचार गराईरहेकी सुस्मा दीक्षितको उपचारको लागि १ लाख ५८ हजार सहयोग नेपाल पठाईएको थियो। सरल स्वभावका मिजासिला ढुंगाना नेपाली जनसम्पर्क समिति पोर्चुगलका सह-महामन्त्री हुन्।