लिस्बन।
पोर्चुगलमा कोरोना भाईरस नियन्त्रण गर्न लगाईएको स्वास्थ्य संकटकालमा कानुनको अवज्ञा गर्नेहरु कारवाहीमा परेका छन्।
स्वास्थ्य संकटकालको २३ नोभेम्बर देखि ८ डिसेम्बरसम्मको दुई साताको समयमा परिवर्तित कानुनको अवज्ञा गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै स्वास्थ्य संकट कानुन नमान्ने ३५९ जनालाई जरिवाना गरिएको छ। स्वास्थ्य संकट कानुनको अवज्ञा गर्ने ३८ व्यवसायहरु बन्द गरिएका छन्। उक्त रिपोर्ट आज आन्तरिक मामिला मन्त्रलायद्वारा संसदमा पेश गरिएको हो।
पोर्चुगलमा दोश्रो चरणको स्वास्थ्य संकटकाल लागु गर्नुभन्दा पहिले कोरोना भाइरसका ८८ हजार बढी सक्रिय संक्रमित थिए, भने संकटकाल लगाएको २ सातामा नै यो यो संख्या झरेर ७० हजारमा पुग्यो। यसले पनि लकडाउन र स्वास्थ्य संकट कानुनले कोरोना भाइरसको नियन्त्रणमा ठुलो सहयोग पुगेको पुष्टि भएको छ।
जरिवाना गरिएका ३५९ जनामध्ये ३७ जनाले सार्वजनिक स्थानमा सामाजिक दुरी कायम नगरेको , ११ जनालाई सार्वजनिक यातायातमा मास्कको प्रयोग नगरेको , २५ जनालाई निर्धारित समयमा व्यवसाय बन्द र संचालन नगरेको, १३ जनालाई समारोह र उत्सवको नियम पालना नगरेको, ३१ जनालाई सार्वजनिक सडकमा मादक पदार्थ सेवन गरेको र बाँकीले अन्य नियमहरु पालना नगरेको अपराधमा जरिवाना गरिएको जनाईएको छ।
राष्ट्रपति मार्सेलोद्वारा स्वस्थ्य संकटकाल ७ जनवरीसम्म लम्ब्याउने प्रस्ताव आज संसदमा पारित हुदैछ। यसघि लागु गरिएको स्वास्थ्य संकटकाल २३ डिसेम्बरसम्मका लागि थियो।