सबिन धिताल , लिस्बन।
स्वरुप बदलिएको नयाँ कोरोना भाइरसको पहिलो केस पोर्चुगलमा फेला परेको छ। बेलायतबाट पोर्चुगल आएका एक पर्यटकमा स्वरुप बदलिएको नयाँ कोरोना भाइरस देखापरेको हो।
ति पर्यटक बेलायतबाट पोर्चुगलको मदेइरा आएका थिए। क्षेत्रीय स्वास्थ्य सचिवालयले दिएको जनाकारी आनुसार पोर्चुगलमा फेला परेको स्वरुप बदलिएको नयाँ कोरोना भाइरसको उक्त घटना पहिलो हो। मदेइराको एयरपोर्टमा गरिएको कोरोना परिक्षणमा ति पर्यटकमा स्वरुप बदलिएको नयाँ कोरोना भाइरस पुष्टि भएको हो।
बेलायतमा कोरोना भाइरसले स्वरुप बदलेर संक्रमण तीब्र रुपमा फैलिएपछि बेलायतले कडा लकडाउन गर्यो । नेदरल्यान्ड्स, डेनमार्क, अस्ट्रेलिया र फ्रान्समा समेत उस्तै स्वरूपका भाइरस भेटिएपछि महामारीबाट तंग्रिन संघर्षरत देशहरु चिन्तित छन् । यही कारणले युरोपियन युनियन लगायत संसारका ५० बढी देशहरुले बेलायतबाट आउने यात्रुहरुलाई बन्देज लगाईसकेका छन्।
कोभिड–१९ को नयाँ स्वरुप मानिएको यो भाइरसलाई यसअघिको भन्दा ७० प्रतिशत बढी संक्रामक भनिएको छ ।तर यसले निम्त्याउने असरबारे वैज्ञानिकहरुले केही भनेका छैनन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यसबारे अहिले नै केही भन्नु हतारो हुने बताएको छ ।