लिस्बन।
पोर्चुगलमा नयाँ बर्ष २०२१ लाई स्वागत गरिरहदा सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै निकै कडाई गरेको छ।
स्वास्थ्य संकटकाल कानुनमा परिवर्तन गर्दै कुनै किसिमको सभा, समारोह, भोज, सामाजिक जमघटमा बन्देज गरिएको छ।
कानुनको खिलाफ लुकिछिपी र समूह बनाएर गरिने यस्ता पार्टीहरु नियन्त्रण गर्न प्रहरीले सामाजिक संजालमा कडा निगरानी बढाएको छ। हिजोआज मानिसहरुले कुनै पनि समारोह, जमघट पार्टी आदिमा आफ्नो स्मार्टफोनको प्रयोग गर्दै सामाजिक संजालमा फोटो र भिडियोहरु पोष्ट गर्ने भएकोले प्रहरीलाई त्यस्ता अनधिकृत पार्टीहरुको बारेमा जानकारी पाउन र नियन्त्रण गर्न सजिलो हुने भएको छ।
कुनै पनि अनधिकृत पार्टी, समारोह, जमघट गरेको प्रहरीले भेटाएमा स्वस्थ्य संकटकाल कानुनमा अनुसार व्यक्तिलाई ५०० युरोसम्म जरिवाना र व्यवसाय/व्यवसायीलाई १० हजार युरो जरिवाना हुनेछ।
सरकारले नयाँ बर्षको पूर्वसन्ध्या आज ३१ डिसेम्बर राति ११ बजेदखि भोलि बिहान जनवरी १ तारिख ५ बजेसम्मका लागि देशभर नै कर्फ्यु लगाएको छ। पोर्चुगलमा देशभर नै कर्फ्यु लगाईएको यो पहिलो पटक हो।
त्यस्तै जनवरी १, २, ३ तारिख पनि दिउसो १ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्मका कर्फ्यु लगाईएको छ।