– अवि अजनबी
कलाकुन्ज , कैलाली |
गूलेली हानेर फुटाईदिउँ लाग्छ –
सपना उड्ने चराका आँखाहरु ।
ब्यथित प्रेमिकाको मनजस्तो
कि भत्काईदिउँ आस्थाका बिम्बहरू?
लखेटिदिउँ लाग्छ बैँशालु रहरहरू
यो मन पनि खै! के के भै दिन्छ ।
आशाहरू बुख्याँचा जस्ता भैदिन्छन्
मन्दीरहरू घण्टाजस्ता हुँदा ।
लक्ष्यहरू लङ्गडो घोडा जस्ता भैदिन्छन्
ईमानहरू गूलाम जस्ता हुँदा ।
अनि हेर्न मनलाग्छ देशको नक्सा ।
के छन् र यहाँ लासैलासहरू मात्र छन्
के छन् र यहाँ झुण्ड्याईएका सासहरू मात्र छन्
अब सास फेर्नमै पनि कर लगाईएपछी ,
देश स्वयम् सम्बोधन गरिरहेछ |
ए श्वाभिमान !
तँ यी कोर्रा सहेर बस् ।
ओ सद्भाबका कण्ठहरू हो !
तिमरू पनि यो जहर पिएर निँदाओ !
ए अन्जान ! नादान !
हेर् यो चलचित्र- “संघीय गणतन्त्र “
हिजो जिन्दाबादको नारा लगाउने तैँ त होस् ।