सुरेश जोशी , लिस्बन।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले नागरिकको जीवनको रक्षा गर्न देशमा स्वास्थ्य संकटकाल थप्न चाहेको बताएका छन्।
उनले भने , ” क्रिसमसमा आम नागरिकको बढेको चहलपहलले स्वास्थ्यमा कस्तो असर गर्ला भन्ने अनुमान लगाउन अहिले नै समय भईसकेको छैन। त्यसैले कम्तिमा ८ दिनका लागि स्वास्थ्य संकटकाल थपेर त्यो अवधिमा हुने कोरोना संक्रमित र निको हुनेको तथ्यांकले आगामी समयको लागि नीतिनियम बनाउन र समस्या समाधानमा सहयोग पुग्नेछ। ”
राष्ट्रपति मार्सेलोले यसपटक संकटकाल १५ दिनका लागि नभएर ८ दिनका लागि मात्रै थपिने बताएका छन्। स्वास्थ्य संकटकाल थपिएमा भने कुनै पनि कानुनमा परिवर्तन नभएर अहिलेकै स्वास्थ्य संकटकानुन लागु हुने समेत राष्ट्रपतिले बताएका छन्।
आरटिपी टेलिभिजनसंगको एक अन्तरवार्तामा क्रममा राष्ट्रपति मार्सेलोले थपे , ” मैले जम्मा ८ दिन संकटकाल थप्न अनुरोध गरेको हु। क्रिसमस र नयाँ बर्षको अवधिमा धेरै कर्मचारी बिदामा भएकोले कोरोना परिक्षण समेत कम हुदा हामीसंग यथार्थ तथ्यांक छैन। हामीले त्यो खाडल पनि पुरा गर्न पनि परिक्षणको दायरा बढाउनु छ। ”
राष्ट्रपति मार्सेलोले संकटकालको समय थप गर्न राजनैतिक पार्टी र सरकारलाई आव्हान गरेका छन्। राजनैतिक पार्टी र संसदले संकटकाल थप्ने राष्ट्रपतिको अनुरोधलाई स्वीकार गरेपछि त्यसलाई मन्त्रिपरिषदले स्वीकृत गर्नेछ।
पोर्चुगलमा दोश्रो चरणको स्वास्थ्य संकटकाल नोभेम्बर ९ बाट लागु भएको हो। उक्त संकटकाल जनवरी ७ तारिख मध्यराति अन्य हुदैछ।