सम्झना अधिकारी, लिस्बन।
कोरोनाको कारण विश्वका हरेक देशको स्वास्थ्य सेवा र अर्थव्यवस्था थलथल भएको छ। युरोप र अमेरिकामा यसको प्रभाव अझै बढी देखिएको छ।
सन् २०१९ को मार्चमा पहिलोपटक कोभिडको संक्रमण देखिएको पोर्चुगलले युरोपमा कोरोनाको पहिलो लहरमा संक्रमण रोकथाममा पकड राखेतापनि सेप्टम्बरमा आएको कोरोनाको दोश्रो छालले पोर्चुगललाई नराम्ररी असर गर्यो। क्रिसमस र नयाँ बर्षपछि आएको कोरोनाको तेश्रो छालले झन् पोर्चुगलको स्वास्थ्य सेवा अस्तव्यस्त बनेको छ।
पोर्चुगलमा कोरोनाका बिरामीले अस्पतालहरु भरिभराउ भएका छन्। सरकारले स्वास्थ्य सेवामा क्षमता बढाएतापनि त्यो अझै अपुग भएको छ। कोरोना संक्रमितहरुको अस्पतालमा भएको चापले स्वास्थ्य सेवा र अस्पतालहरुले नियमित र पूर्वनिर्धारित सेवाहरु पनि उपलब्ध गर्न सकेनन्।
कोरोनाका बिरामीहरुहरुलाई व्यवस्थापन गर्दा पोर्चुगलमा सन् २०२० को अप्रिलदेखि डिसेम्बरसम्मका ९ महिनामा १ लाख २१ हजार पूर्वनिर्धारित अप्रेशनहरु हुन सकेनन, रद्ध भए। त्यस्तै सोहि समयमा पूर्वनिर्धारित १२ लाख अपोइण्टमेन्ट हरु ( परामर्श ) पनि रद्ध भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
सन् २०२१ को सुरुवातीसंगै पोर्चुगलमा आएको कोरोनाको तेश्रो छाल अस्पतालहरुले थेग्नै नसक्ने अवस्था भएपछि देशका अधिकांस अस्पतालहरुले इमर्जेन्सी नभएका सबै अप्रेशन र परामर्शहरु रद्ध गरेका छन्। समयमै कोरोना संक्रमण दरमा कमी आउन सकेन भने यो बर्ष अझै बढी नागरिकहरु नियमित स्वास्थ्य सेवाबाट बन्चित हुनसक्ने चेतावनी स्वस्थ्य विज्ञहरुले दिएका छन्।