लिस्बन।
पछिल्लो एक सातादेखि पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्या आकाशिएको छ।
पछिल्लो एक साताको तथ्यांकलाई हेर्ने हो भने पोर्चुगल संसारकै दोश्रो तिब्र कोरोना संक्रमण दर भएको देश मानिएको छ भने युरोपमा नम्बर एकमा रहेको छ। त्यस्तै जनसंख्याको आधारमा मृतकदरमा चौथो स्थानमा छ।
पोर्चुगलमा हिजो सोमबार मात्रै कोरोनाक कारण २१८ जनाको मृत्यु भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। मृतकको यो संख्या हालसम्मकै उच्च हो। सोही समयमा १० हजार ४५५ जना नयाँ संक्रमित फेला परेका छन्।
कोरोना संक्रमितको संख्या आकाशिएपछि देशभरिका अस्पतालहरु भरिएका छन् , बेड खाली छैनन्। अस्पतालहरुले सामान्य बिरामी हेर्न बन्द गरेर सामान्य वार्डहरुलाई धमाधम कोभिड वार्डमा बदलेका छन्। इमर्जेन्सीका बिरामी बोकेर आएका एम्बुलेन्सहरु देशका प्रमुख सबै अस्पतालहरु बाहिर घन्टौसम्म बेड कहिले खाली होला भनेर कुरेर बस्न बाध्य छन्।
पीएसडी डाक्टर रिकार्डो ले भनेका छन् कि , ” बेडको अभावमा को बिरामी मर्नसक्ने वा कसलाई बचाउन सकिने भनेर चिकित्सकहरुले निर्णय गर्दै बेडको व्यवस्था गर्नुपर्ने दर्दनाक अवस्था मैले जीवनभर देखेको छैन। अहिले अस्पतालहरुको अवस्था युद्धक्षेत्र जस्तै भएको छ, हाम्रो आशा मर्दै गएको छ। ”
हिजै मात्रै प्रधानमन्त्री एन्तोनियो कोस्ताले पत्रकार सम्मेलन गरी थप कडा नियम लागु गरेका छन्। स्वास्थ्यमन्त्री मार्ता तेमिदोले पोर्चुगलको स्वास्थ्य क्षेत्रमा सरकारले आफ्नो क्षमता वृद्धि गरेतापनि संक्रमितको संख्यामा आएको बाढीलाई उपलब्ध साधन र श्रोतहरुले धान्नै नसक्ने अवस्था आउनसक्ने चेतावनी दिएकी छिन्।
पोर्चुगलमा हालसम्म कोरोनाक कारण ९२४६ को ज्यान गईसकेको छ। हालसम्म ५ लाख ६६ हजार ९५८ जना संक्रमित फेला परेका छन्।
पोर्चुगलमा कोरोनाक सक्रिय बिरामीको संख्या बढेर १३५ हजार ८८६ पुगेको छ।
सक्रिय बिरामीमध्ये ५ हजार २९१ जना देशका विभिन्न अस्पतालहरुमा भर्ना भएका छन्। ६७० जनाको उपचार आइसीयुमा भईरहेको छ।
पोर्चुगलमा हालसम्म ४ लाख २१ हजार ८७१ जना उपचार पश्चात निको भईसकेको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले दिएको छ।
फोटो : रिकार्दो अल्मेइदा