लिस्बन।
पोर्चुगलमा कोरोनाका कारण प्रत्येक ७ मिनेटमा एक जनाको मृत्यु हुनेगरेको तथ्य सार्वजनिक भएको छ।
स्वास्थ्य महानिर्देशनालयको तथ्यांक अनुसार पोर्चुगलमा बुधबार मात्रै २१९ जनाको मृत्यु भएको छ। पोर्चुगलमा कोरोनाबाट एकै दिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। मंगलबार कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या २१८ थियो।
बुधबार मात्रै १४ हजार ६४७ संक्रमित थपिएका छन्। यो पनि पोर्चुगलमा एकैदिन संक्रमित हुनेको सबैभन्दा उच्च संख्या हो।
पोर्चुगलमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेहरुको संख्या ९ हजार ४६५ पुगेको छ। हालसम्म कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ६०५ पुगेकोमा ४ लाख ३७ हजार ८२९ जना उपचार पश्चात् निको भईसकेका छन्।
पोर्चुगलमा कोरोनाक सक्रिय बिरामीको संख्या बढेर १ लाख ४३ हजार ७७६ पुगेको छ।
कोरोनाका सक्रिय बिरामीहरुमध्ये ५ हजार ४९३ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ।
चिन्ताजनक अवस्थामा रहेका ६८१ जनाको उपचार आइसियुमा भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
सरकारले कोरोना नियन्त्रण गर्न एकातिरमुलुकमा संकटकाल लगाएको छ भने अर्कोतिर संक्रमित र मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ । राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायतले विना काम घर बाहिर नजान आग्रह गर्दै मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्न बारम्बार अनुरोध गर्दै आएका छन्।
स्वास्थ्य विज्ञहरुले संक्रमित र मृतकको दर अझैं बढ्न सक्ने चेतावनी दिएका छन् ।