लिस्बन।
# सांकेतिक फोटो
बिरामीको सेवा गरेर कामबाट घर फर्किरहेकी एक नेपाली चेली पोर्चुगलमा लुटिएकी छिन्।
१९ जनवरी बेलुका अस्पतालको आफ्नो ड्युटी सकेर घर फर्किरहेकी नेपाली नर्स इन्दिरा व्यन्जनकार श्रेष्ठ राजधानी लिस्बनमा लुटिएकी हुन्।
अस्पतालको ड्युटी सकेर घर फर्किने समयमा रातको करिब ९ बजेतिर लिस्बनको पोंतिन्हा मेट्रो स्टेशन बाहिर ५ जनाको समुहमा आएका युवाहरुले आफ्नो आइफोन लुटेर भागेको उनले आफ्नो फेसबुकमा उल्लेख गरेकी छिन्।
कालो कपडा, कालो हुडी र कालो मास्कमा आएका ५ जनाको समुहले आफ्नो आइफोन लुटेपछि उनीहरुलाई समात्न आफुले लखेट्दा समात्न नसकेको र गुहरार गर्दा पनि कोही सहयोग गर्न नआएको उनले बताएकी छिन्। उनले सबैलाई सावाधानी अपनाउन र सचेत हुन् समेत आग्रह गरेकी छिन्।
उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ,
” करिब ९ बजेतिर म कामबाट घर फर्किरहेको थिए। जब म पोंतिन्हा मेट्रो स्टेशनको बाहिर पुगे, कालो कपडा, कालो हुडी र कालै मास्क लगाएर ५ जनाको समुहमा आएका केटाहरुले मेरो आइफोन लुटे। म अवाक भए। मैले तिनीहरुलाई लखेटे तर समात्न सकिन, न कसैले मलाई सहयोग नै गरे। त्यत्तिनै बेला मैले अर्की एक महिला ति केटाहरुको पछि दगुर्दै गरेको देखे, पछि थाहा पाए कि उनीहरुले तिनको पनि आइफोन लुटेका रहेछन। प्रहरी स्टेशन नजिकै थियो। म प्रहरी स्टेशन गए र उजुरी गरे। मैले प्रहरीलाई बताए कि ५ जना चोर लुटेराहरु प्रहरी स्टेशन वरिपरि घुमिरहेका छन्, तपाईहरु तिनीहरुलाई पक्रेर मलाई सहयोग गर्न सक्नुहुन्छ। तर, प्रहरीले चोर लुटेराहरुलाई लखेटेर पक्राउ गर्नुको साटो उजुरी मात्रै दर्ता गर्यो। बिश्वास नै गर्न सकिन। म सम्पर्कबिहीन भएको छु, मैले सबै गुमाए, दुःख पाए । पोर्चुगलमा लकडाउनको समय झन् झन् खराब हुदै गएको छ। कृपया सबैजना सजग र सावधान हुनुहोला। ”
Around 9pm Today while returning from duty ,when I reached just outside the metro station of pontinha ,five peoples in…
Posted by Indira Byanjankar Shrestha on Tuesday, 19 January 2021
जनजीवनमा कोरोनाको प्रभाव र समय समयको लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन्। सुरक्षा संयन्त्र पनि कमजोर हुदै गएको छ। पछिल्लो समयमा चोरी र लुटपाटका घटनामा वृद्धि भएका छन्।
केहि दिन अघि मंगलबार राति करिब ९:१५ बजे लिस्बनको केन्द्र मानिने रोस्सियोमा एक १८ बर्षीय युवाको मोबाइल लुट्ने क्रममा प्रतिकार गर्दा लुटेराहरुले छुरा प्रहार गरि लुटपाट गरेको घटना सार्वजनिक भएको छ।
लुटिन वा चोरी हुनबाट कसरि जोगिने :
– एकान्त ठाउमा वा सुनसानमा फोन प्रयोग नगर्ने। फोन प्रयोग गर्नैपर्ने भएका सकेसम्म हेडफोनको प्रयोग गर्ने। सकेसम्म फोन हातमा नबोक्ने।
– घरबाट, मेट्रोबाट, कामबाट, सपिङ्ग मलबाट बाहिर निस्कदा आफ्नो वरिपरि कस्तो मान्छे छन् वा को छन् हेरेर मात्रै निस्किने।
– महंगा ग्याजेट, घडी, गहना , फोन देखिने गरि प्रयोग नगर्ने वा नलगाउने।
– आफ्नो महंगा सामानहरु, ग्याजेटहरु, सुनचाँदी , गहना सामाजिक संजालमा पोष्ट नगर्ने। यसो गर्दा चिनेका मान्छेहरुले पनि फाइदा लिन सक्छन।
– कामबाट राति अबेर घर फर्किनुपर्ने छ भने सकेसम्म एक्लै नहिड्ने, साथीको समुहमा फर्किने वा आफन्तको सहयोग माग्ने ।
– एउटा फिता भएको झोला एकोहोरो नभिर्ने, सकेसम्म छड्के भिर्ने र अगाडी राख्ने। यसो गर्दा झोला सधै आफ्नो नजरमा हुने भएकोले चोर वा लुटेरालाई लुट्ने साहस गर्न गाह्रो हुन्छ।
– सावधानीका हरेक उपाय अपनाउदा अपनाउदै पनि अप्ठेरो परिस्थिति आएमा सकेसम्म प्रतिकार नगर्ने, मागेको वा आफुसंग भएको कुनै एक बस्तु दिने र आफु सुरक्षित हुने प्रयास गर्ने। ज्यान भन्दा ठुलो कुनै एक फोन वा ग्याजेट हुन सक्दैन। लुटेराहरुसंग प्रायजसो कुनै न कुनै धारिला हतियार हुन्छन , प्रतिकार गर्दा ज्यानको जोखिम हुनसक्छ।
– सावधानी अपनाउदा अपनाउदै पनि घटना भईहालेमा प्रहरीलाई खबर गर्ने वा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्ने।