लिस्बन।
सरकारले आज संकटकाल कानुनमा परिवर्तन गर्दै सुरक्षा अधिकारीहरुलाई कानुन उल्लङ्घन गर्नेलाई स्पटमै ( ठाउँको ठाउँ ) जरिवाना गर्ने अधिकार दिएको छ। संकटकाल कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तिमा २०० युरोदेखी १००० युरोसम्म र व्यवसायलाई कम्तिमा २००० युरोदेखी १०,००० युरोसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ। स्पटमै जरिवाना तिर्न नसक्नेलाई अदालतमा बोलाईने र अदालती प्रकृयासम्मको सबै हर्जाना रकम समेत कानुन उल्लङ्घनकर्ताले तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ।
पछिल्लो २ सातादेखि लगातार संक्रमितको संख्या, मृत्युदर , अस्पतालमा भर्ना हुने बिरामीको संख्या र आइसियुमा उपचार गराउनेहरुको संख्यामा दिनदिनै वृद्धि मात्रै होइन, हरेक दिन रेकर्ड ब्रेक हुदै आएको छन्। जनवरी १ तारिख कोरोनाका कारण अस्पतालमा भर्ना हुनेको संख्या २ हजार ५०६ थियो। दुई सातामै यो संख्या बढेर दोब्बर भएको छ। यसैकारण सरकारले थप कडाइ गर्दै सुरक्षा अधिकारीलाई थप अधिकार प्रदान गरेको हो।
पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७४ जनाको ज्यान गएको छ। सोही समयमा १५ हजार ३३३ थप संक्रमित फेला परेका छन्। पोर्चुगलमा हालसम्मकै अत्याधिक संक्रमित फेला परेका छन् भने एकै दिनमा मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
कोरोना महामारी शुरुभएयता पोर्चुगलमा १० हजार १९४ को ग्यान गएको छ भने ६ लाख २४ हजार ४६९ जना संक्रमित भएका छन्।
सक्रिय संक्रमितको संख्या बढेर १ लाख ६२ हजार ९५१ पुगेको छ।
सक्रिय संक्रमितहरुमध्ये ५ हजार ९२२ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। कोरोना संक्रमणले चिन्ताजनक अवस्थामा रहेका र आइसियुमा उपचार गराईरहेका बिरामीको संख्याना पनि बढेर ७२० पुगेको स्वास्थ्य महानिर्देशनालयको जनाएको छ।