लिस्बन।
लिस्बन एयरपोर्ट हिरासत केन्द्रमा कुटाईबाट मृत्यु भएका एक आप्रवासीको परिवारलाई सेफले ७ लाख १२ हजार ९५० युरो क्षतिपूर्ति प्रदान गरेको छ।
सेफको लिस्बन एयरपोर्टस्थित हिरासत केन्द्रमा राखिएका एक युक्रेनियन नागरिकको गत मार्चमा मृत्यु भएको थियो। घटनाको ९ महिनापछि कुटाईका कारण उनको मृत्यु भएको पुष्टि भएपछि सेफका प्रमुखले बुधबार राजिनामा दिएका थिए । उक्त घटनामा संलग्न ३ जना सेफ अधिकारी बिरुद्द ज्यान मुद्धा दायर भएको छ।
युक्रेनका नागरिक ओहोर होमेन्युक लिस्बन एयरपोर्टमा बिना भिषा पोर्चुगल छिर्न खोज्दा मार्चमा पक्राउ परेका थिए। पक्राउ परेका उनलाई सेफले युक्रेन फिर्ता पठाउन खोज्दा प्लेनमा बस्न नमानेपछि उनलाई एयरपोर्टको हिरासत केन्द्रमा राखिएको थियो, जहाँ उनको मृत्यु भएको थियो।
उक्त घटनाको बारेमा मन्त्रिपरिषदमा निकै बहस चलेको थियो। मन्त्रिपरिषदको अनुमोदन र प्रधानमन्त्री एन्तोनियो कोस्ताको आदेशमा आन्तरिक मामिला मन्त्रि एदुअर्दो कब्रिताले मृतक ओहोर होमेन्युकको परिवारलाई उक्त क्षतिपूर्ति रकम १२ जनवरीमा प्रदान गरेका छन् ।
ज्यान मुद्धा लागेका तिनैजना सेफका अधिकारीहरु हिरासतमा छन् र उनीहरुबिरुद्धको अदालती सुनुवाई बहस २ फेब्रुवरीमा हुदैछ।