पोर्चुगलमा क्याफे र रेस्टुरेन्ट अप्रिल अन्तिमसम्म बन्द रहने !

लिस्बन।

पोर्चुगलमा क्याफे र रेस्टुरेन्ट अप्रिल अन्तिमसम्म बन्द रहने खबर पोर्चुगलका मुलधार संचारमाध्यमहरुले जनाएका छन्।

सरकारले क्रिसमस र नयाँ बर्षमा लकडाउन दिएको छुटका कारण जनवरीको शुरुवातीबाटै नै कोरोना संक्रमितहरुको संख्या आकाशियो। लगत्तै अस्पताल संक्रमितहरुले भरिभराउ भए, दिनदिनै मृतक र संक्रमितको संख्यामा नयाँ नयाँ रेकर्ड ब्रेक भए। कोरोनाको पहिलो र दोश्रो लहरमा संक्रमण रोकथाममा संसारमै उत्कृष्ट प्रदर्शन गरेको पोर्चुगल नयाँ बर्षमा तेश्रो छालमा विश्वको नम्बर एक हटस्पट बन्यो।

पोर्चुगलको सरकार क्रिसमस र नयाँ बर्षमा जनजीवनमा दिएको खुकुलोपन र छुटका कारण भोग्नुपरेको परिणाम र जनजीवनमा भएको क्षति र अस्तव्यस्तता फेरी अर्को चाडमा छुट दिएर व्यहोर्न चाहदैन। क्रिसमस पछिको ठुलो चाड इस्टर आउदैछ। सरकार इस्टरसम्म लकडाउनमा कडाई गरेर कोरोना नियन्त्रण गर्ने संयन्त्रमा लागेको छ।

सरकार दैनिक संक्रमितको संख्या सकेसम्म चाडो दुई हजार तल झार्न चाहन्छ तर यो सम्भव कडा लकडाउनबाट मात्रै सम्भव छ जसका लागि मार्चको तेश्रो सातासम्मको समय लाग्नसक्ने विज्ञहरुले बताएका छन्।

पोर्चुगलमा कडा लकडाउनका कारण पछिलो एक साताबाट दैनिक संक्रमित र मृतकको दरमा निरन्तर गिरावट हुदै आएको छ। पछिल्लो २४ घण्टामा २ हजार ५०५ जना संक्रमित फेला परेका छन् भने १९६ जनाको ज्यान गएको छ। अघिल्लो दिन संक्रमितको संख्या ३ हजार ५०८ थियो भने २०४ जनाको ज्यान गएको थियो।

कोरोना संक्रमित र मृतकको संख्यामा निरन्तर कमी आएपछि मात्रै चरणबद्ध रुपमा लकडाउन खुकुलो गर्ने रणनीति सरकारले बनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार