पोर्चुगलमा एकैदिन एकै समयमा नारी समाज र महिला समाजको छुट्टैछुट्टै नारी दिवस बिशेष कार्यक्रम !

लिस्बन।

१११ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा नेपाली नारी समाज पोर्चुगल र नेपाली महिला समाज पोर्चुगलले भिन्नाभिन्नै कार्यक्रम गरि मनाउने भएका छन्। तर दुबै समाजले कार्यक्रम भने एकै दिन ७ मार्च र एउटै समय दिउसो १:१५ बजे राखेका छन्।

नेपाली नारी समाज पोर्चुगलले कार्यक्रम ‘महिलाको सुरक्षा र चुनौतिहरु ‘ बिषयक विचार गोष्ठी आयोजना गरी मनाउदैछ। नेपाली महिला समाज पोर्चुगलले भने ‘महिलाहरूको लागी कानुनी परामर्श’ बिषयक एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।

नारी समाजले आफ्नो कार्यक्रम पुर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा जिपी फ़ाउन्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको प्रमुख आतिथ्यतामा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष, पुर्व सासंद तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा रेग्मी, नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रिय सदस्य माननीय रामकुमारी झाक्री, नेपाली कांग्रेस महिला बिभागकी केन्द्रिय सचिव लक्ष्मी खतिवडा, अधिबक्ता बिष्णु बस्याल र लैंगिक विशेषज्ञ डा.ज्योती तुलाधरको बिशेष आतिथ्यतामा आयोजना गर्दैछ।

अर्कोतिर महिला समाजले आफ्नो कार्यक्रममा एनआरएनए बेलायतकी अध्यक्ष पुनम गुरुङको प्रमुख आतिथ्यमा बरिष्ठ कानुनविद राजेन्द्र शर्मा र महिला अधिबक्ता शारदा पौडेललाई सहजीकरणमा आयोजना गर्न लागेको छ।

१११ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवस ८ मार्चमा भएतापनि महिला हकहितका लागि पोर्चुगलमा स्थापना भएका दुबै संस्थाले सहभागी र बिशेष अतिथीहरुको समयको सहजतालाई ध्यानमा राखी ७ मार्चमा एउटै समय दिउसो १ : १५ बजे आयोजना गर्नुपरेको बताएका छन्।

दुबै संस्थाहरु नारी समाज र महिला समाजका कार्यक्रम अनलाइन जुम एप्लिकेशन मार्फत् हुनेछन्।

नारी समाजलाई कांग्रेस समर्थक र महिला समाजलाई कम्युनिष्ट समर्थकको आरोप लाग्दै आएको छ। आम नागरिकहरुले दुबै संस्थालाई प्रतिस्पर्धाकै लागि कार्यक्रम जुधाएको भनेर सामाजिक संजालमा आलोचना समेत गरेका छन्।

स्मरण रहोस् हरेक बर्ष ८ मार्चमा बिश्वब्यापी रुपमा बनाउदै आईरहेको यस बर्ष १११ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसको नारा “नेतृत्वमा महिला: कोभिड – १९ को संसारमा समान भविष्यको प्राप्ति ” ( Women in leadership: Achieving an equal future in a COVID-19 world ) रहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार