प्रविन धिताल सबिन, लिस्बन।
पोर्चुगलमा कोरोनाका नयाँ संक्रमित र मृत्युदरमा पछिल्लो ६ सातादेखि निरन्तर गिरावट आएको छ। सरकार र विज्ञहरुले कडा लकडाउनको कारण संक्रमित र मृत्युदरमा गिरावट आएको दावी गरेका छन्।
शनिवार पोर्चुगलमा ५६४ जना नयाँ संक्रमित थपिएका छन्। सोही समयमा १९ जनाको कोरोनाकै कारण ज्यान पनि गएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पोर्चुगलमा हालसम्म कोरोना संक्रमणका कारण १६ हजार ६६९ जनाको ज्यान गएको छ। त्यस्तै कोरोना संक्रमण शुरुभएयता ८ लाख १३ हजार ७१६ जना संक्रमित भएका छन्।
कोरोना संक्रमणका कारण उपचारका लागि अस्पताल भर्ना हुनेको संख्यामा पनि गिरावट आएको छ। पछिल्लो तथ्यांक अनुसार देशका विभिन्न अस्पतालहरुमा ९८० जना संक्रमितहरुको उपचार भईरहेको छ। यो संख्या अघिल्लो दिनको तुलनामा ६६ ले कमी हो।
त्यस्तै आइसियुमा भर्ना भएका संक्रमितहरुको संख्यामा पनि निरन्तर कमी आएको छ। शनिवारको ताजा तथ्यांक अनुसार २५३ जनाको आइसियुमा उपचार भईरहेको छ। यो संख्या अघिल्लो दिनको तुलनामा १३ ले कमी हो। स्वास्थ्य महानिर्देशनालयका अनुसार आइसियुमा भर्ना भएका सिकिस्त बिरामीहरुको यो संख्या २७ अक्टोबर यताकै न्यून हो।
शनिवार मात्रै ६ हजार ४८९ जना कोरोनामुक्त भएका छन्। यो संगै कोरोनामाथि बिजय प्राप्त गर्नेको संख्या ७ लाख ५६ हजार २५९ पुगेको छ।
यता कोरोनाका सक्रिय बिरामीको संख्या पनि निकै अन्तरले ओरालो लागेको छ। स्वास्थ्य महानिर्देशनालयको आजको ताजा तथ्यांक अनुसार पोर्चुगलमा ४० हजार ७८८ जना कोरोनाक सक्रिय बिरामी रहेका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा ५ हजार ९४४ ले कम हो।
लिस्बन क्षेत्रमा अझै पनि कोरोनाको सबैभन्दा बढी बिरामी थपिने र मृत्युदर सबैभन्दा बढी भएकोले देशभरकै सबैभन्दा बढी जोखिम क्षेत्र मानिएको छ।
कोरोनाका संक्रमित र मृतकको संख्यामा निरन्तर कमी आएपछि सरकारले लकडाउन चरणबद्ध रुपमा अलि खुकुलो गर्दै लागेको छ , यद्यपी देशमा संकटकाल तेर्हौ पटक लगाउदै ३१ मार्चसम्म लम्ब्याईको छ।