लिस्बन।
गैर आवासिय नेपाली संघ पोर्चुगलभित्र ठगी, गुण्डागर्दी र आर्थिक अनियमितता हावी भएको भन्दै एकै दिन ४ जना कार्यसमिति पदाधिकारीले राजिनामा दिएका छन्।
राजिनामा दिनेहरुमा उपाध्यक्षद्वय अशोक गुरुङ र मच्छिन्द्र अर्याल, सचिव यमेन्द्र घर्तिमगर र सदस्य आनन्द तामाङ् रहेका छन्।
सार्वजनिक रुपमा राजिनामा दिने चारै पदाधिकारीहरुले संघको नेतृत्वमाथि एउटै र उस्तै आरोपहरु लगाएका छन्। उनीहरुले लामो समयदेखि पोर्चुगलको नेपाली समाजमा देखिएका अमानवीय घटनाहरुप्रति आफु दुःखी भएको बताएका छन्। आफ्नो समाजिक र पदीय मर्यादालाई समेत कुल्चिएर नेपाली समाज पोर्तुगललाई आतंकीत तुल्याउने गरी भैरहेका ठगी, गुण्डागर्दी लगाएतका समाजमा त्रासको वातावरण सिर्जना गर्ने तत्व र प्रवृद्धीका विरुद्ध उनीहरुले घोर भत्सर्ना समेत गरेका छन्।
१ बर्षमा गर्नुपर्ने वार्षिक साधारणसभा २० महिना पुग्दा अध्यक्षले गर्ने चासो नदिएको , संस्था पारदर्शी नभएको , बिना जानकारी अनि छलफल नगरी संघमा अध्यक्षले मनोमानि ढंगले एकल निर्णय गरेको, पदिय मर्यादा बिर्सेर संघमा वारम्वार गल्ती गर्नेलाई अध्यक्षले नै बचाउन हदै सम्मको प्रयास गरेको उनीहरुको आरोप छ।
नेपालीहरुबिच एकता र सद्भाव बनाएर सबै बर्ग र समुदायलाई एकिकृत गर्दै परदेशी नेपालीहरु बीचको साझा संस्थाको रुपमा गैरआवासीय नेपाली संघलाई स्थापित गर्नुको सट्टा संघका अध्यक्ष तिलक गैरेले पिडितहरु प्रतिको जिम्मेवारी बिर्सेर संस्थाकै नाममा लुटपाट, गुण्डागर्दी मच्चाउने तत्वहरुको हरेक जालसाक्षीको मतियार भएर ढाकछोप गरेको उनीहरुले आरोप लगाएका छन्।
बारम्वार अनुरोध गर्दापनि हालसम्म संस्थाको कोषको हिसाबकिताब नदेखाउनले कोषको पैसाको चरम दुरुपयोग भएको उनीहरुको तर्क छ। कार्यसमितिका सदस्यहरुले बारम्बार नेतृत्वलाई संघको हिसाबकिताब देखाउन हरेक बैठकमा अनुरोध गरेतापनि नेतृत्वले संघको हिसाब नै देखाउन नमानेको अधिकांस पदाधिकारीहरुको गुनासो छ।
ठाडो निर्देशनमा कार्यसमितिका पदाधिकारीहरुलाई मनलाग्दो तवरले कार्यसमितीबाटअध्यक्षले निलम्बन गर्ने गरेको, संस्थाका केहि गुण्डागर्दी मच्चाउने तत्वहरुले गर्ने हरेक गलत कामको अध्यक्षले साथ दिदै हरेक जालसाक्षीको मतियार भएर ढाकछोप गर्नमा संघभित्र अध्यक्षले हदैसम्मको बल प्रयोग गरेकोले उनीहरुले यस्तो संस्थामा बस्नुको औचित्य नभएको भन्दै नैतिकताको आधारमा राजिनामामा दिएको उल्लेख गरेका छन्।
संघका अध्यक्ष गैरेले कार्यसमिति सदस्य सबिन धिताललाई डेढ बर्षदेखि एकलौटी र मनोमानी ढंगले संघको कार्यसमिति समूहबाट बाहिर राखेका छन्। धिताल आफ्नै संघका कावा अध्यक्ष भिमसेन थापाबाट सार्वजनिक कार्यक्रममा कुटिएपछि संघको नेतृत्वसंग न्याय मागेका थिए। अध्यक्ष गैरेले उल्टै पदिय मर्यादा बिर्सिएर गुण्डागर्दी गर्ने पदाधिकारीको बचाउ गर्दै पिडित धिताललाई डेढ बर्षदेखी संघको समुहबाट बाहिर राखेका छन्, जबकि संघभित्र यससम्बन्धी कहिँ कतै कुनै पनि निर्णय नै भएको छैन।
राजिनामा दिनेहरुमध्ये उपाध्यक्ष गुरुङको राजिनामा संघले आरोपहरुको खण्डन नै नगरी स्वीकृत गरेको छ। बाँकी तीन जनाको राजिनामा उपर संघमा कुनै छलफल भएको छैन।
अध्यक्ष गैरेको व्यक्तिवादी रबैया र ज्यादती बिरुद्ध संघका अन्य पदाधिकारीहरु समेत सामुहिक राजिनामा दिने तयारीमा रहेको श्रोतले भोइस अफ नेपाललाई जानकारी दिएको छ।