असार /साउन र भदौ महिना स्वादिलो फलफूलको रुपमा चिनिने आँपको महिना हो । जुनसुकै उमेर समूहका मानिस पनि आँप मन पराउँछन् । ठूला देखि स-साना रुखमा फल्ने आँपका धेरै प्रजाति हुन्छन् । यिनै प्रजातिका आधारमा यसको स्वाद फरक-फरक हुन्छ । आँपको विभिन्न परिकारहरु जस्तै आँपको लस्सी, आँपको स्मूदी, आँपको धुलो, आँपको अचार, आँपको जुस, काँचो आँपको खट्टा जुस, काँचो र पाकेको आँपको धुलोबाट खट्टामिठा जुस, म्याङगो चिल आइस, सलाद, गालेको अचार, आपको चाना, गुन्द्रुकसँग साँधेर आँपको अचार बनाउन सकिन्छ ।
भूगोलअनुसार पनि आँपको स्वादमा विभिन्नता पाउन सकिन्छ । हरेक वर्ष नेपालीभन्दा पहिले भारतीय आँप बजारमा आउने गरेको छ । हुन त नेपालमा खपत हुनेमध्ये अधिकांश फलफूल भारतबाटै आयात हुने गरेको छ । तर नेपालको सबैजसो हावापानीमा यो उपलब्ध हुने भएको कारण फलफूलको राजा मानिने आँपको माग स्वदेशी उत्पादनले नै धान्ने गरेको छ।अनुसन्धानहरुले देखाएअनुसार एसिया महादेश आँपको लागि धनी मानिन्छ। अफ्रिका र मलेसियामा पनि आँपको राम्रो उत्पादन हुन्छ। नेपालमा बम्बे, केसर, दसहरी, मालदह, बन्बै ग्रिन, कृष्णभोग जातका आँप उपलब्ध हुने गरेका छन् । खासगरी काठमाडौंमा मालदह, कलकत्ते, दसरी, बम्बई, आम्रपाली कृष्णभोग जातका आँप बढी खपत हुने गरेको छ ।आँपमा कार्बोहाईड्रेड, प्रोटिन कोलेष्ट्रोल, डाण्टरी रेशा, भिटामिनहरु सी, ए, ई र के, सोडियम, पोटासियम, क्याल्सियम लगायतको थुप्रै तत्वहरु पाउन सकिन्छ ।
आँपका फाईदाहरु यस्ता छन् :
-आँपले बालबालिकाको मानसिक विकास गर्न सहयोग पुर्याउँछ ।
-आँपको सेवनले पाचनप्रक्रिया ठिक गराउँछ ।
-आँपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
-यसले दिमाग र हड्डीको विकासमा पनि टेवा पुग्छ ।
-क्याल्सीयम, बेटा क्यारोटिन, भिटामिन ए जस्ता तत्वहरुले बच्चाको हड्डी र स्मरण शक्तिमा तेज ल्याउन सघाउँछ ।
-भिटामिन बी -६ र बी -२ जस्ता तत्व आँपमा हुने भएको कारण तुरुन्त शक्ति प्राप्त गर्न सघाउँछ ।
-भिटामिन सी र मिनरल्स जस्ता पदार्थहरु हुने भएकाले आँपले मांसपेशी र हड्डीको विकासका लागि सहयोगी हुन्छ ।
-मुटु र आँखाका लागि आँपको सेवन निकै फाइदाजनक हुन्छ ।
-आँपमा भिटामिन ए हुने भएकाले आँखाको ज्योति बढाई आँखा बिग्रिनबाट पनि बचाउँछ ।
-आँपको सेवनले रक्तचाप पनि सन्तुलनमा ल्याउँछ ।
-रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । बाहिरी इन्फेक्सनबाट पनि बचाउँछ ।
-आँपको प्रयोगबाट पाचन प्रक्रिया समेत राम्रो हुन्छ ।
-क्यान्सर हुनबाट जोगाउँन मद्दत गर्छ।
-तौल बढाउँछ ।
-आँपमा पर्याप्त मात्रामा आइरन हुने हुँदा एमिनिया हुनबाट जोगाउन मद्दत पुर्याउँछ।
-गर्भवती महिलाको लागि पनि आँप राम्रो मानिन्छ।
-यौन सम्बन्धी समस्या हुनेले पनि नियमित खाएर लाभ लिन सकिन्छ ।
काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा सिरहा, सप्तरी, महोत्तरी, सर्लाही लगायत तराई क्षेत्रबाट आउने आँप स्वादिलो र मिठो हुन्छ । तर आँपलाई धेरै दिनसम्म भण्डारण गर्न नसकिने हुनाले कतिपय व्यापारीले काँचो आँप टिपेर बजारमा ल्याई भण्डारण गरी कृत्रिम तरीकाले पकाएका हुन्छन् । यसो गर्दा आँपको स्वादमा मात्र होइन पोषक तत्वमा समेत प्रभाव पर्छ । त्यसैले आँपको सिजनमा तपाईले आँप किन्नुअगाडी त्यो प्राकृतिक रुपमा नै पाकेको हो वा अन्य विषादीको प्रयोग गरि पाकेको हो भन्ने कुरा निक्र्यौल गर्नुपर्छ ।
व्यापारीले स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा बिक्री गर्ने गर्छन् । यसबारे आम उपभोक्तालाई खासै थाहा हुँदैन । विषादी हालेर पकाईएको आँपका कारण स्वास्थ्यमा जोखिम हुने भएका कारण आँप किन्नुपूर्व ध्यान दिन जरुरी छ । विषादी प्रयोग गरि पकाइएको आँप खाएपश्चात् बान्ता हुने, झाडापखाला लाग्ने, अपच हुने, पेट फुल्ने, ढ्याउ आउने, शरिरमा बिमिरा आउने, मुखबाट अमिलो पानी आउने, केहिलाई ज्वरो समेत आउने हुनसक्ने चिकित्सक बताउँछन् । कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्नेलगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा. प्रगति राना मगर सुझाव दिन्छिन् । आँपको सेवनले धेरै प्रकारका रोगहरुबाट बच्न सकिन्छ । तर यदि हामीले खाने आँप नै स्वस्थ्य छैन भने आँपले मानव शरीरमा फाईदा भन्दा नोक्सानी धेरै गर्छ ।