बुडापेस्ट : साविक विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोकपमा पहिलो खेल खेलिरहँदा केही कीर्तिमान पनि बनाएका छन्। युभेन्ट्सबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डो युरोपियन च्याम्पियनसिप (युरोकप) मा लगातार पाँच संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन्। १६औं संस्करणमा हंगेरीविरुद्धको खेलमा पहिलो रोजाइमा मैदान उत्रिएपछि रोनाल्डोले यो कीर्तिमान बनाएका हुन्।
३६ वर्षीय रोनाल्डोकै कप्तानीमा पोर्चुगलले युरोकप खेलिरहेको छ। यसअघि उनले सन् २००४ देखि २०१६ सम्म लगातार चार संस्करण खेलेका थिए। रोनाल्डोले पहिलो पटक सन् २००४ मा घरेलु मैदानमै भएको युरोकप खेलेका थिए। त्यसमा पोर्चुगल फाइनलमा पराजित गएको थियो। २०१६ मा रोनाल्डोकै कप्तानीमा पोर्चुगलले फ्रान्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।
यसैगरी रोनाल्डोले आफूले खेलेका पाँचै संस्करणमा गोल पनि गरेका छन्। रोनाल्डोले युरोकपको डेब्यु खेलमा दुई गोल गरेका थिए। यस्तै सन् २००८ मा एक, सन् २०१२ मा तीन र सन् २०१६ मा पनि तीन गोल गरेका थिए। उनले हंगेरीविरुद्धको खेलमा दुई गोल गर्दै युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्। उनले फ्रान्सका मिचेल प्लाटिनीलाई पछि छाड्दै सर्वाधिक गोलकर्ता बनेका हुन्। उनले पोर्चुगलका लागि अहिलेसम्म १ सय ६ गोल गरिसकेका छन्। उनी राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनीभन्दा अघि इरानका अली देइले १ सय ९ गोल गरेका छन्। रोनाल्डो युरोकपमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन्। हंगेरीविरुद्धको खेल युरोकपमा उनको २२औं खेल हो।
‘रोनाल्डो त्यो प्रेरणादायी खेलाडी हुन्, जसले संकटको अवस्थामा पनि टोलीको उद्धार गर्न सक्छन्’, इङ्ल्यान्डका पूर्वस्ट्राइकर क्रिस सटनले भने, ‘उनी निकै चतुर छन्। जुनसुकै अवस्थामा पनि खेल्न सक्छन्।’