पोर्चुगलमा कोरोना संक्रमित बढे : सप्ताहन्तमा लिस्बन आउन – जान प्रतिबन्ध !

लिस्बन।

पोर्चुगलमा निरन्तर कोरोना संक्रमितहरुको संख्या बढेसंगै सरकारले फेरी केही कडा नियम सहित लकडाउन लागु गरेको छ। पछिल्लो समयमा राजधानी लिस्बनमा भारतीय प्रकृतिको डेल्टा भेरीयन्टको संक्रमण ह्वात्तै बढेपछि सरकारले लिस्बनलाई बढी कडाई गरेको छ ।

सरकारले सप्ताहन्तमा राजधानी लिस्बनमा आवत-जावतमा रोक लगाएको छ। नयाँ परिवर्तित नियम अनुसार शुक्रवार दिउसो ३ बजेदेखि सोमवार बिहान ६ बजेसम्म सर्वसाधारणलाई अन्य नगरपालिकाबाट लिस्बन प्रवेश गर्न वा छोड्न रोक लगाएको हो। जतिधेरै जमघट र आवतजावत, त्यति नै धेरै संक्रमणको जोखिम भएकोले सरकारले फेरी नागरिकहरुको बिनाकाम हिडडुलमा रोक लगाएको हो। रोजगारीको लागि हिडडुल गर्नुपर्ने बाध्यता भएकाहरुले आफ्नो रोजगारदाताबाट कामको प्रमाणित कागजपत्र लिएर यात्रा गर्न सक्नेछन। त्यस्तै अत्यावश्यक काम र स्वास्थ्य सेवाको लागि यो नियमले बन्देज लगाउने छैन तर त्यसको लागि पूर्वनिर्धारित अनुमति लिएको वा सम्बन्धित निकायलाई जानकारी दिएको हुनुपर्नेछ।

राजधानी लिस्बन सहित १० नगरपालिकामा के के भए नियम परिवर्तन ?

राजधानी लिस्बनमा कोरोना संक्रमितको संख्या बढेसंगै सरकारले सप्ताहन्तमा लकडाउन गर्ने घोषणा गरेको छ। राजधानी लिस्बन लगायत Albufeira, Arruda dos Vinhos, Cascais, Loulé, Sertã, Sintra, Sesimbra, Braga र Odemira मा टेलिवर्किङ र रिमोट वर्किङ नियम लागु गरिएको छ । यी नगरपालिकाहरुमा रेस्टुरेन्ट र क्याफेहरू बेलुका १०:३० बजे बन्द गरिसक्नुपर्नेछ। रेस्टुरेन्टको भित्र एउटा टेबलमा बढीमा ६ जना बस्नसक्नेछन् भने रेस्टुरेन्टको बाहिर खुल्ला स्थानमा बढीमा १० जनाको समूहमा सम्मिलित हुन सक्नेछन्।

त्यस्तै खाद्य र गैर खाद्य खुद्रा व्यापारहरु बेलुका नौ बजेसम्म मात्रै खुल्नेछन्। सांस्कृतिक कार्यक्रमहरु रातको १०:३० बजे बन्द गरिसक्नुपर्नेछ। विवाह र बप्तिस्मामा क्षमताको ५० % मात्रै उपस्थित हुनसक्नेछन्। नागरिक सेवा कार्यालयहरुमा प्रतक्ष्य सेवा पुर्व निर्धारित अपोइण्टमेन्टको आधारमा मात्रै हुनेछन्। खेलकुदहरु दर्शक बिना मात्रै सम्पन्न गर्न सकिनेछ।

सरकारले सप्ताहन्तमा अन्य नगरपालिकाबाट लिस्बन महानगरपालिकाभित्र आवतजावत गर्न बन्देज गरेको छ। शुक्रवार दिउसो ३ बजेदेखि सोमवार बिहान ६ बजेसम्म लिस्बन महानगरपालिका क्षेत्रमा आवतजावत गर्नमा रोक लगाईएको छ।

यी माथिका १० नगरपालिका बाहेकका अन्य २६८ नगरपालिकाहरुमा १० जुनमा लागु गरिएको नियमहरु यथावत रहनेछन्। सरकारले यी नगरपालिकाहरुमा कोरोना संक्रमण दरको आधारमा हरेक दुई सातामा नियम परिवर्तन गर्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार