लिस्बन।
लिस्बनमा साइकलमा उवर डेलिभरी गर्ने एक युवा भयानक दुर्घटनामा परेका छन्।
लिस्बनको अलकन्त्रामा भएको सो दुर्घटनामा उनका दुवै हात र एक खुट्टा भाचिएको छ। हात र खुट्टाका हड्डीहरु बिच भागबाट भाचिएकोले उनको अवस्था गम्भीर छ। टाउकोमा कुनै पनि चोट लागेको छैन ।
१९ जुनमा दुर्घटनामा परेका उवर साइकल डेलिभरी चालक बंगलादेशका नागरिक रहेको बुझिएको छ। हाल उनको लिस्बनको एक अस्पतालमा उपचार भईरहेको छ।
फुड डेलिभरी सर्भिस र चुनौती :
पछिल्लो समय कोरोनाका कारण लकडाउन र व्यापारिक र व्यवसायिक प्रतिष्ठानहरु बन्द हुनु र होम डेलिभरीको बिकास र विस्तारले रोजगारी गुमाउने र नयाँ अवसरको खोजीमा भएकाहरुको लागि अनलाइन डेलिभरी सेवाहरु जस्तै उवर इट्स, बोल्ट फुड, ग्लोभो र टेकवे आदि बैकल्पिक रोजगारको माध्यम बनेका छन्।
फुड डेलिभरी सर्भिस बैकल्पिक रोजगारीको अवसर भएसंगै चुनौती पनि त्यत्तिकै छन्। फुड डेलिभरी सर्भिसमा काम गर्ने अधिकांसहरुले साइकल र अन्यले मोटरसाइकल र स्कुटी प्रयोग गर्ने गरेका छन्।
साइकल अन्य साधनहरुको तुलनामा सस्तो भएकोले डेलिभरीको लोकप्रिय साधन बनेको छ। साइकलमा डेलिभरी गर्दाका चुनातिहरु पनि त्यत्तिकै छन्। साइकल र गाडीहरु शहरका अधिकांस सडकहरु शेयर गर्ने भएकोले दुर्घटना हुनसक्ने चुनौती त्यत्तिकै छ। समय समयमा लुटिने समस्या पनि त्यत्तिकै छ।
साइकलमा डेलिभरी गर्दा कसरि सुरक्षित रहने ?
– जति धेरै डेलिभरी गर्यो, त्यत्ति नै बढी कमाई हुन्छ तर जीवन अमुल्य छ। जीवन रहे र स्वास्थ्य रहे सबैथोक रहन्छ, जीवन नै नरहे , सम्पत्तिको अस्तित्व छैन। त्यसैले खाना डेलिभरी गर्दा हतार र प्रतिस्पर्धा होइन, संयम भएर गरौ।
– शहरका अधिकांस भागमा साइकल र गाडीमोटरले एउटै बाटो शेयर गर्ने भएकोले सावधानीका साथ साइकल चलाऔं।
– एउटै सडक शेयर गरेपछि साइकल र मोटरका लागि पनि एउटै नियम लागु हुन्छ। सधै मोटरले झैँ पूर्णरुपमा सडक र ट्राफिक नियमको पालना गरौ।
– साइकल लेन भएको ठाउमा सकेसम्म साइकल लेन प्रयोग गरौ।
– रातो बत्तीमा कहिल्यै सडक पार नगरौ। सकेसम्म कहिल्यै ओभर टेक नगरौ।
– साइकलको गति सिमित र आफ्नो नियन्त्रणमा राखौ। साइकल चलाउनुभन्दा पहिले सधै ब्रेक जांच गर्ने गरौ।
– साइकल र मोटरकोबिच अगाडी र साइडमा दुरी कायम गरेर मात्रै साइकल चलाऔं।
– अनिवार्य हेलमेटको प्रयोग गरौ। यसले दुर्घटनामा टाउकोमा चोट लाग्नबाट बचाउछ।
– सकेसम्म सिजन अनुसार “हाइभिजिवल” ज्याकेटको प्रयोग गरौ। यसले अन्य सवारीचालकहरुलाई टाढैबाट साइकलयात्रीलाई देख्न मद्धत गर्छ।
– ह्यावी मालवाहक गाडीहरुको पछाडी वा साइडबाट ओभरटेक नगरौ। यस्ता गाडीहरुमा “ब्लाइन्ड पोइन्ट” हुन्छ, ड्राइभरले पछाडी र साइडमा को छ भन्ने देख्दैन, र दुर्घटना हुने सम्भावना हुन्छ।
– बिहान , बेलुका, अध्यारो, बर्षा, बादल र राति अनिवार्य लाइटको प्रयोग गरौ। साइकलमा गाडीमा झैँ अगाडी सेतो र पछाडी रातो बत्तीको मात्रै प्रयोग गरौ। गलत बत्तिको प्रयोगले दुर्घटना हुने सम्भावना उच्च रहन्छ।
– गर्मीमा डिहाइड्रेट हुनबाट बच्न सधै पानीको बोत्तल प्रयोग गरौ।
– साइकल चोरीहुनबाट बच्न सधै सुरक्षित तालाको प्रयोग गरौ र साइकललाई सकेसम्म साइकल स्टेन्ड वा कुनै पोलसंग बाधेर राखौ। सकेसम्म डबल लकको प्रयोग गरेर दुबै चक्काहरु लक गरौ।
( नोट : हेर्दा यी नियमहरु सामान्य लाग्न सक्छन, तर यी उपायहरुले सुरक्षित रहन निकै मद्धत गर्छ। )