सुरेश जोशी / सबिन धिताल , लिस्वन ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको निर्बाचनमा ४ क्षेत्रमध्ये ३ क्षेत्रमा निर्वाचन रद्ध भएको छ। संघका ४ निर्वाचन क्षेत्रहरु लिस्बन, अलेन्तेजो, अल्गार्भ र नर्थ पोर्तो क्षेत्रमा निर्वाचन रद्ध भएको भएको छ भने आज लिस्बनमा मात्रै निर्वाचन सम्पन्न भएको छ।
संघको निर्वाचन २०२१-२३ को लागि कुल मतदाता संख्या १६८८ मध्ये लिस्बोनमा कुल मतदाता संख्या १०७० रहेको छ ।अलेन्तेजो क्षेत्रमा २३८ जना, अल्गार्भमा २३६ जना र नर्थमा ९१ जना मतदाता रहेका छन्।
संघको निर्वाचनमा लिस्बन क्षेत्रमा कुल ६३४ मत खसेको निर्वाचन समितिका संयोजक रमेश कुमार गुरुङले जानकारी दिएका छन्।
अल्गार्भ र अलेन्तेजोमा मतदानकेन्द्रको बारेमा बिबाद भएपछि र नर्थ पोर्तोमा निर्वाचन समय शुरु हुनुभन्दा २ घण्टा पहिले नै मतपेटिकामा २२ मत खसालेर धाँधली भएको पाईएकोले यी तीन वटै क्षेत्रमा निर्वाचन रद्ध भएको हो।
त्यस्तै निर्वाचन रद्द भएका अल्गार्भ, अलेन्तेजो र नर्थमा निर्वाचन कहिले हुने बारेमा अहिलेसम्म समितिले कुनै सूचना दिएको छैन , तर यी क्षेत्रहरुमा पनि क्रस भोटिंगमा प्रतिबन्ध लगाईको छ। लिस्बन क्षेत्रका मतदाताहरुले पनि निर्वाचन रद्ध भएका यी तीनै क्षेत्रमा मतदान गर्न पाउने छैनन्।
अघिल्ला बर्षहरुमा सबै क्षेत्रहरुमा मतदान एकै समयमा सम्पन्न हुने भएकोले केन्द्रसँग समन्वय गरी क्रस भोटिंग गर्न सकिने सुबिधा थियो। बिहान १० बजे शुरु भएको निर्वाचन पूर्व निर्धारित तालिका अनुसार बेलुका ८ बजे समापन भएको थियो।