सम्झना अधिकारी, लिस्बन।
पोर्चुगलमा ६५ बर्ष बढी उमेर समुहकालाई फ्लु र कोभिड बुष्टर ज्याब लगाउन शुरु गरिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
महानिर्देशनालयका अनुसार १८ अक्टोबर सोमबारबाट नै उमेरका हिसाबले जोखिम समुहमा परेका उनीहरुलाई फ्लु र कोभिड बुष्टर ज्याब लगाउन शुरु गरिएको हो।
उक्त उमेर समुहकाहरुले एकैदिन वा फरक फरक दिनमा फ्लु र कोभिड बुष्टर ज्याब लगाउन सक्नेछन्
पोर्चुगलमा सो उमेर समुहकाहरुले कोरोना भ्याक्सिनको दुबै डोज लगाईसकेका भएतापनि मृत्युदर भने उच्च रहेको छ। सेप्टेम्बरमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेहरुको ५८ प्रतिशत ८० बर्ष माथि उमेर समुहका रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। अक्टोबरमा यो संख्या बढेर ७० प्रतिशतमा पुगेको छ। त्यसैले पनि ६५ बर्ष माथि उमेर समुहकाहरुलाई स्वास्थ्य जोखिमका आधारमा कोभिड बुष्टर ज्याब ( कोरोना खोपको तेश्रो मात्रा ) लगाउन लागिएको हो।
बेलायती संस्करणको अल्फा भेरीयन्टमा कोरोनाको भ्याक्सिनले सुरक्षा प्रदान गरेतापनि भारतीय संस्करणको डेल्टा भेरीयन्टमा प्रचलित कोरोना भ्याक्सिनहरुको प्रभावकारितामा ह्रास आएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। त्यसैले पनि जोखिम उमेर समुहकाहरुलाई कोभिड बुष्टर ज्याब लगाउन स्वास्थ्य महानिर्देशनालयले अनुरोध गरेको छ।
कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएकाहरुमध्ये ५० प्रतिशत बिरामी ८० बर्ष बढी उमेर समुहका रहेका र उनीहरुमध्ये ४० प्रतिशतको उपचार आइसियुमा भईरहेको स्वास्थ्य महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ। स्मरणयोग्य कुरा के छ भने , उनीहरुमध्ये प्रायः सबैले कोरोना भ्याक्सिनको दुबै डोज लगाईसकेका छन्।
जोखिम उमेर समुहमा परेका नागरिकहरुले फ्लु र कोभिड बुष्टर ज्याब लगाउन आफ्नो सेन्ट्रो दो साउदमा सम्पर्क गर्न सक्नेछन्।