– यादव देवकोटा
यो चोक गड्यौलिको चोक होइन,
गड्यौला सरह म हामी भएको चोक –
यो चोकमा चुपचाप बसे चान्स छ,
यो चोकमा फिनान्स पनि छ
यो चोकमा सोसल पनि छ
तर, सोसाइटि छैन !
यो चोकमा सेवाको भाषण पाइन्छ
यो चोकमा आशन गर्न पाइन्छ
यो चोकमा शासन गर्न पाइन्छ
नपाइने त्यै एउटा अनुशासन त हो ।
यो चोकमा आशै आश पाइन्छ
यो चोकमा खास र लाश पाइन्छ
लाश पठाउने बिश्वास पाइन्छ
मरेपछि पनि स्याबास पाइदैन ।
यो चोकमा झुटै झूट पाइन्छ
यो चोकमा गुटै गुट पाइन्छ
यो चोकमा कुटैकुट पनि पाइन्छ
समाजलाइ शुट हुने मान्छे पाइदैन ।
यो चोकमा मान्छे हजार पाइन्छ
यो चोकमा बिचार पनि पाइन्छ
बिरामिको निशुल्क उपचार पाइन्छ
तर हरामिको उपचार पाइदैन ।
यो चोकमा झुल्ने/भुल्ने साझ पाइन्छ
कतिहो कति समाजनै समाज पाइन्छ
त्यै समाजको न काम, न काज पाइन्छ
दुख पर्दा कसैको माझ पाइदैन ।
यो चोकमा साहित्य र कला पाइन्छ
यो चोकमा गितारुको गला पाइन्छ
यो चोकमा एकसेएक जलजला पाइन्छ
यो चोकमा चर्तिकला पनि पाइन्छ ।
यो चोकमा कतिकति पत्रकार पाइन्छ
यो चोकमा पत्रकारको आकार पाइदैन
यो चोकमा छ्यापछ्यप्ति समाचार पाइन्छ
यो चोकमा समाचारको बिचार पाइदैन ।
यो चोकमा –
बिरामिको निशुल्क उपचार पाइन्छ
तर हरामिको ज्यानजाला उपचार पाइदैन !
शोक र शोख दुबै मनमा हुने
यो चोक लिस्बन हो लिस्बन !
ए भन भन भाइहो – चोकतिर !