प्रदीप रोदन/ गोरखा
उडेका चराहरुको कैद सपना लेख्न सक्छ
लेख्न सक्छ एउटा मान्द्रोको बिम्बमा निधार
ऊ आफ्नै प्रेयसीको केशलाई
तरुनी पहाडको झरनासँग तुलना गर्नसक्छ।
उधारेर जिन्दगीको छाती
मुटुलाई पत्थर लेख्न सक्छ ऊ
या लेखिदिन सक्छ पत्थरको पनि मुटु,
मायालाई घाउ लेखिदिन सक्छ,
घाउलाई माया लेखिदिन सक्छ।
कहिल्यै नबसेको चौतारोलाई
कहिल्यै नतरेको नदीलाई
कहिल्यै नदेखेको भगवानलाई
कहिल्यै नभोगेको दु:खलाई लेखिदिन सक्छ ऊ।
तिमीलाई नछोएर पनि
लेखिदिन सक्छ तिम्रो ओठको स्पर्श
तिमीलाई नहेरेर पनि
बयान गर्न सक्छ तिम्रो सौन्दर्य।
ऊ लेखिदिन सक्छ
तिमीले नै नदेखेको तिम्रो कुरा
आफैले नदेखेको आफ्नो बुढ्यौली
लासको पनि जिन्दगी लेखिदिन सक्छ
अफसोस
तिम्रो कवि
यी सब कुरा लेखेर पनि
आफ्नो निधार लेख्न कहिल्यै सक्दैन।