घर फर्केको म्यादी

प्रज्वल अधिकारी

प्यारीका ‘नजानु न !’ भनिरहेका आँखाहरूलाई
गरिबीको पिडाले भाउन्न हुँदै
‘बाउन्न दिन आउन्न !’ भनेर
घरबाट निस्केर हिँडेको म
घर फर्केको छु ।

मैले देशलाई यो समयमा के कति दिएँ ?
देशले मलाई कति माया गर्यो ?
छोडिदिनुस यी कुरा ।

फर्कने बेला केही नोटहरू समाउदै गर्दा
मेरा आँखामा एकैचोटी आए-
छोराको स्कुलको लेखापालको- निर्दयी अनुहार
पन्ध्र पुसको भाखा राखेर ल्याएको- भैंसीको साहु
किराना पसलको नाफाले फुलेको- ब्यापारी
र, आउने बेला ‘आउनासाथ तिर्छु’ भनेर
रू हजार मागेको- बिर्खमानको अनुहार ।।

म्याद छउन्जेल जम्मा गरेको पसिना
अब,
अलिकति चुहाउनु छ – किरानामा
अलिकति पोख्नु छ – साहुकोमा
अलिकति दिनु छ – छोराको स्कुलमा
अलिकति ।।

त्यतिबेला पटक्कै सम्झनामा आएनछ –
छोराले तोते बोलीमा ‘पापा ल्याईदिनु है !’ भनेको
छोरीको दुई चुल्ठी बाटेर डोरी लाउने रहर
बालाई लगाउन मन लागेको उनीको टोपी
आमाले आउने बेलामा
‘बाबु आउँदा स्याउ ल्याइज ल !’ भनेको
र, ऊनको लाली, गाजल लाउने रहर

गाडीबाट ओर्लनासाथ बाटै छेउको किराना पसलेलाई
अलिकती पसिना थमाएर
अरु अर्कोपटक तिरौला है ! भन्दै
बदलामा पोको पारेँ
उसको खुन्सिएको अनुहार

मेरो गोजीमा
गिद्दे नजर गाडेर बसेका भैंसी साहुको चुच्चोमा
केही मासु थमाएर
बदलामा थापेँ
भाखा नघाउन नपाउने उर्दी

बाटो ढुकेर बसेको रहेछ बिर्खमान
उसले दिएको जस्तै रू हजारको नोट थमाएर
बदलामा अलिकती इमान बोकेर हिँडे

जाँदै गर्दा-
स्कुलको बाटो हुँदै गए घर..
उकालीको चौतारोमा गफिईरहेका मेरै उमेरकाले
आयो जवानीमै म्याद सकेर भन्दै खिल्याए
म्यादीको जोश मुट्ठीसम्म ल्याएर फर्काए

सोचिरहेछु…
सरकारले त आफ्नो निधारमा धान फलायो
अब पाँच बर्ष ढुक्कले खान्छ
याद आइरहेछ-
अंगालो हालिरहेको हात
बिस्तारै फुत्किएर छट्पटाउदै पछारिएको जवान

रित्तो गोजि, गलेको शरीर, उजाड आँखा
लिएर घर पुग्दै गर्दा
मन भने खुशी छ
परिवारको रहर त कहिले पो पूरा गरेको छु र !
एउटा अचम्मको घमण्ड पलाएको छ

घर पुग्नासाथ
फ्यात्र्याक्क फालेर पिंडिमा रित्तो झोला
यतिबेला म
जाँदा आँगनमा कुन्यु लगाएर हिँडेको
ओस्सिएको धान झाँट्दै छु
सरकार चाहिँ के गर्दै होला ?

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार