लमजुङ |
पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन जाने भक्तजनको घुइँचो लाग्ने गर्दछ । देवादिदेव महादेवको वासस्थानको रूपमा परिचित यो कुण्डमा जनैपूर्णिमाका दिन नुहाए सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ ।
लमजुङ र गोरखाको सिमानाको रूपमा बगेको चेपे नदीको मुहान दूधपोखरीले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वलाई बोकेको छ ।
झट्ट सुन्दा दूधपोखरी दुध जस्तै सेतो पोखरी होला भन्ने अनुमान लगाउन सकिन्छ । तर वास्तविकता निलो र सौन्दर्यको मनोरम दूधपोखरी सामुद्रीक सतह देखि ४५६० मीटर उचाइमा गोरखा र लम्जुङको सिमानामा अवस्थित छ । दूधपोखरी लम्जुङको ऐतिहासिक, धार्मिक एवं रमणीय सुन्दर पोखरी हो ।
दूधपोखरी तिर्थयात्राको लागि लम्जुङबाट घुमाउरो पर्ने र गोरखाको सिरानडाडाबाट कम दुरी पर्ने तिर्थयात्रीहरु बताउछन । सिरानडांडा हुँदै दूधपोखरी जादा अधिकाँश भूभाग गोरखाको अजिरकोट गाउँपालिका पर्दछ ।
सिरानडाडाबाट लगभग आधा घन्टाको यात्रा गरिसकेपछि दोबाटे खर्क पुगिन्छ र दोबाटे खर्कदेखी थप आधा घन्टाको यात्रा पछि बागखोर भन्ने ठाउँमा पुगिन्छ जहाँ दूधपोखरी र नागेपोखरीको बाटो छुट्टीन्छ । दूधपोखरी जानको लागि बागखोर देखि बायाँ पश्चिम जानुपर्दछ ।
घना जङ्गल, बिशाल गुराँसको बोटहरु, सानातिना खोल्सा खोल्सी पार गर्दै जाने क्रममा कुनैकुनै ठाँउमा एक दुई खर्कहरु भेटिन्छन् । ७ देखि ८ घन्टाको यात्रा गर्दा बिचमा कहि कतै पाटिपौवा, खानपिन र बासबस्ने मानव बस्तीहरु भेट्न सकिदैन । अन्तिम सुरक्षित न्हार्कु खर्क (भेडिगोठ) पुग्न सिरानडाडाबाट कमसेकम १० घन्टाको यात्रा तय गर्नुपर्दछ । जहाँ एकै ठाँउमा तीन वटा भेडिगोठहरु छन् । न्हार्कु खर्कबाट अघि बढदा साझको समय असुरक्षित हुने राम बहादुर तामाङ (लामा) बताउछन् ।
ऐतिहासिक दूधपोखरी कुण्ड मेला जाने लगभग ६०-७० प्रतिशत तिर्थयात्रीहरु गोर्खाको अजिरकोट गाउँपालिका हुँदै जाने भएको कारण पालिकाले ठाँउठाँउमा पाटीपौवा, पिउने पानीको धारा, थकान मेटाउने चौतारी, बाटो अल्मलिने ठाँउमा संकेतिक बोर्ड, प्रत्येक खोल्सा खोल्सीहरुको नाम साईनबोर्डमा लेखेर चिनाउन सके पैदल तिर्थयात्रीहरुलाई ठुलो सहयोग मिल्ने तिर्थयात्रुहरू बताउँछन् ।
दिनभरी पैदल यात्रा गरेका तिर्थयात्रीहरुलाई खानपिन र बसोबासको लागि अत्यन्तै कठिनाई र बर्षाको मौसम भएको कारण बस्ने ठाँउको पनि अभाव, रातभर अनिदो र अक्सिजन (लेक लाग्ने) को कमिको कारण बिमार हुने र निश्चित गन्तव्यसम्म नपुगी बिच बाटोबाटै फर्किने तिर्थयात्रीहरु पनि भेटिन्छन । यसको लागी अजिरकोट गाउँपालिकाले ब्यवस्थापन मिलाउनसके पालिकाले आन्तरिक र वाह्रय पर्यटनबाट ठुलो लाभ लिन सक्नेछ ।
“यो युग पैदल यात्राको होईन, उडने र गुडनेको युग हो” नेपालको एक ऐतिहासिक धार्मिक स्थल तथा सुन्दर रमणीय दूधपोखरीसम्म सवारी साधन आवातजावत गर्न सके आन्तरीक पर्यटनलार्इ टेवा मिल्ने छ ।
गोरखा र लम्जुङ दुई जिल्लाको समन्वयमा दूधपोखरीको स्तरोन्नति र समृद्धिको बिकास गर्न सके दुबै जिल्लाले ठुलो लाभ लिन सक्ने प्रवल संभावना देखिन्छ ।
भुम्लिचोक युवा क्लबले आयोजनामा दूधपोखरी सरसफाइ:
दूधपोखरी गाउँपालिका २ भुम्लिचोक युवा क्लबले दूधपोखरी सरसफाइ तथा तिर्थयात्रीहरुलाई निशुल्क चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पोखरीमा स्नान गरेर चिसोले कठयाङ्गग्रीएका तिर्थयात्रुहरुलाई चिया र कफी निशुल्क वितरण गरेको थियो । दूधपोखरीलाई सुन्दर, सफा र तिर्थयात्रीहरुलाई सहयोग गर्नुपर्छ भन्ने सामाजिक भावना बोकेका भुम्लिचोक युवा क्लबका २२ जना युवायुवतीहरु आवश्यक सामाग्रीहरुको भारी बोकेर चार दिन पैदल यात्रा गरी दूधपोखरी पुगेका थिए ।
‘पोखरीमा स्नान गरेका तिर्थयात्रुहरुलाई चिया र कफी दिएको र यत्रतत्र छरिएका फोहोरमैला पनि सरसफाइ गरेका छौ’ क्लबको नेतृत्व गरिरहेका सुवास गुरुङले बताए ।