काठमाडौं ।
बडादसैँँको टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।
नवरात्रभर नवदुर्गा भवानीको पूजाअर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ । ९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ । तर यसवर्ष देशका अधिकांश स्थानमा वर्षा भएकाले टीका लगाउन जानेहरूको चहलपहल भने कम देखिएको छ ।
बडादसैँ आफैँमा शुभ भएकाले कोजाग्रत पूर्णिमासम्म जतिबेला पनि टीका लगाउँदा हुने जानकारहरू बताउँछन् । सुरुमा आफ्ना घरका जेष्ठ सदस्यबाट टीका लगाउन सुरु गर्दै आफ्ना काका, ठूलोबुवा घर, मामा घर, ससुराली र अन्य मान्यजनका घरमा गइरहेका छन् । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् ।
यो क्रम पूर्णिमासम्म रहन्छ । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।