कतार विश्वकप अन्तिम हुने मेसीको घोषणा

काठमाडौँ।

अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले कतारमा हुने विश्वकप फुटबल आफ्नो लागि अन्तिम हुने बताएका छन्।

पेरिस सेन्ट जर्मनका पैँतीस वर्षीय फरवार्डले अर्जेन्टिनाको तर्फबाट चारपटक विश्वकप खेलिसकेका छन्। सो क्रममा १९ खेलमा उनले छवटा गोल गरेको र थप पाँच गोलका लागि सघाएका थिए।

सन् २०१४ मा अर्जेन्टिनालाई उनले उपविजेताको उपाधि दिलाए भने आफ्नो कप्तानीमा सन् २०२१ को कोपा अमेरिकाको उपाधि दिलाए।

इएसपीएनसँग कुरा गर्दै मेसीले भने ” अब आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन बाँकी छ। निश्चितरूपमा त्यो मेरो अन्तिम विश्वकप हुनेछ ।” उनले थपे, ‘मैले विश्वकप फुटबलको दिनगन्ती गरिरहेको छु। एकसाथ चिन्ता र हडबडाहट छ।’

सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका मेसीले अर्जेन्टिनाका लागि कूल १६४ खेलमा ९० गोल गरेका छन्। फिफाको वरियता क्रममा आर्जेन्टिना तेस्रो स्थानमा छ।

नोभेम्बर २० तारिखबाट सुरू हुने कतार विश्वकप फुटबलअन्तर्गत समूह सीमा अर्जेन्टिनाको भेट साउदी अरब मेक्सिको र पोल्यान्डसँग हुने छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार