पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।
साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ ।रातो मासु अर्थात् खसी–बोका, राँगा, बँदेल, भेँडा आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रसस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयष्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।
कतिपय समुदायले सांस्कृतिक प्रचलन र धार्मिक मान्यता अनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्नुपर्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रिल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।
यसैगरी, विभिन्न अङ्गका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुको परिकारका रूपमै प्रयोग गरिन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिजतत्व पनि यी अङ्गमा प्रसस्त मात्रामा पाइन्छ । कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरू फोहरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो । यस्तै, रातो मासु हाली बनाएको ससेज जस्ता परिकारलाई लामो समय संरक्षण गर्न रसायन (प्रिजरभेटिभ) राखिने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुनसक्ने कुरा अध्ययनले देखाएको छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।
सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अङ्गको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक–फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी, छालासहित कुखुराको खुट्टा, पँखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ । यस्तै, कुखुरा तथा अन्य चराचुरुङ्गीको मासु प्रयोग गरी बनाएको ससेज, हटडग पनि स्वस्थकर हुँदैनन् ।
चराचुरुङ्गीको प्रकार अनुसार पनि चिल्लोको प्रतिशत फरक–फरक हुन्छ । कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै खालका चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको दाँजोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्न सके स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । सफा वातावरणमा उत्पादन भएका चराचुरुङ्गीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ ।
पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो हुन्छ । सकिन्छ भने, हप्ताको दुईचोटि खानामा माछा समावेश गर्दा राम्रो हुन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्वहरू प्रसस्त हुन्छ । खासगरी, यसमा भिटामिन बी–१, बी–३, बी–६ र भिटामिन ‘डी’ प्रसस्त हुनुका साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्व पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओमेगा–३ फ्याटी एसिड पनि हुन्छ ।
माछा र ओमेगा–३ फ्याटी एसिड
केही माछामा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले प्रायः खानामा संलग्न गरिँदैन । तर, कोलेस्टेरोलको मात्रा धेरै भए पनि फ्याटी एसिडको मात्रा कम हुने भएकाले माछालाई सधैँ बार्नु पर्छ भन्ने हुँदैन । यस्तै, माछा पखाल्दा, काट्दा तथा पकाउँदा सावधानी अपनाउन सके हानिकारक कीटाणु नष्ट हुन्छन् । माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुका साथै यसमा पाइने स्वस्थकर चिल्लो पदार्थ ओमेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ ।
ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकाले मुटुसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ । यसबाहेक ओमेगा–३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ । ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । नियमित रूपमा माछा खाने मानिसलाई मुटु सम्बन्धी रोगको सम्भावना कम हुन्छ । स्वास्थ्यखबरपत्रिका बाट ।