साप्ताहिक राशिफल (वि.सं. २०७५ श्रावण १३ गतेदेखि वि.सं. २०७५ श्रावण १९ गतेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कर्मक्षेत्रमा रहेको चन्द्रमाका साथमा प्रारम्भ भएको यो साता मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धीमूलक यात्रा हुने योग छ । बुधबार र बिहीबार बाह्रौं भावमा चन्द्रमा हुने भएकाले बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ । साताको अन्त्यमा पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुनेछ । व्यस्त समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भाग्य अभिबृद्धि हुने साता छ । यो साता व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । साताको अन्त्य अनुकूल छैन, सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । त्यसैले समग्रमा समय राम्रै छ, क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यो साता हातहतियार र मिलमेसिनरीबाट बेफाइदा हुने साता रहने छ, त्यसैले बाटो काट्दा, हतियार प्रयोग गर्दा वा सवारी चलाउँदा सतर्कताको खाँचो हुनेछ । ढिलो गरी कार्यसम्पादन हुने समय छ । सोमबारपछि धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउनु हुनेछ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आम्दानी बढ्नेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । साताको अन्त्यमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
रामरमाइलो र मनोरञ्जक क्रियाकलापका साथमा साताको सुरुवात हुनेछ, तर समग्रतामा साताले शुभफल प्रदान गर्ने सङ्केत छैन । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ होस राख्नुपर्छ । साताको उत्तरार्द्घ अनुकूल रहने छ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहने छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । खानपानमा खर्च गर्न मन हौसिन्छ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन, बुद्धिको उपयोग गरी भाग्य बढाउने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साताको प्रारम्भमा नै लेनदेनमा विवाद हुनसक्छ । पारिवारिक अशान्तिको योग छ, संयमताका साथ अघि बढ्नु जायज हुनेछ । सोमबारपछि प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । बुधबार र बिहीबार अष्टम भावमा चन्द्रमा रहने छ, स्वास्थ्य कमजोर हुनसक्छ, पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । साताको अन्त्यमा हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । समग्रमा यो साता विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने समय छ । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समग्रतामा मिश्रित प्रभाव प्राप्त हुनेछ, जे गरे पनि बुद्धि र विवेकको उपयोग गरी अघि बढ्ने समय चल्दैछ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । सोमवार र मङ्गलवार सहयोगी हातहरू पछि हट्न सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । बुधबार र बिहीवार बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । प्रणयसम्बन्ध र रतिरागका लागि अनुकूल समय रहने छ । पुनः साताको अन्त्यमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
साताको प्रारम्भमा केही घरायसी समस्यामा घोत्लिनु पर्ने समय छ । कामको चाप र दायित्व बढ्नेछ । साझेदारी र सट्टापट्टाबाट बेफाइदा देखिन्छ । जुवाजन्य क्रियाकलापमा दिलचस्पी नराखेको राम्रो हुन्छ । सोमवार र मङ्गलवार समय उत्साहवर्द्धक नै रहने छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । बुधबार र बिहीवार दृष्टिशक्तिमा कमी आउन सक्छ । झैझगडा र किचलोबाट फाइदा हुँदैन । शुक्रबारपछि प्रेमसम्बन्धमा सुधार आउने छ, प्रेमीप्रेमिकाका बीचमा सुमधुर र मिठासपूर्ण सम्बन्ध कायम हुनेछ, मनको झुकाव आनन्द र रमणीयतातर्फ उन्मुख हुने सङ्केत छ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वादले काम गर्नसक्छ । राम्रो समाचार सुन्न पाउनु हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सुरुमा सामाजिक कामबाट मानसम्मान र प्रशंसा जुटाउन सकिने छ । तर सोमवारदेखि बुधवारसम्म आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यस समयमा मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । साताको उत्तरार्द्घमा घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पढाइमा राम्रो प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुनेछ । तर शुक्रबार र शनिवार पनि राम्रो समय छैन, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धनधान्य र सुखसम्मृद्धि जुटाउन मद्दत मिल्ने समय छ । यस अवधिमा विभिन्न जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ । तर बुधबार र बिहीवार घरायसी समस्या उत्पन्न हुनेछन् । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । साताको अन्त्यमा कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने दिन छ । समग्रमा यो साता शुभकारी समय नै छ, यद्यपि जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले राम्रै सङ्केत देखिंदैछ । पढाइलेखाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । तर साताको अन्त्य अनुकूल छैन, शुक्रबार र शनिवार घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने समय रहने छ । वैदेशिक रोजगारी गर्नेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्यासमेत आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आकस्मिक र बाध्यताका खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ । यद्यपि दानपुण्यका लागि असल छ । परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ, मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । साताको उत्तरार्द्घमा कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । आगामी शुक्रवार र शनिवार कृषिकार्यतिर मन जानेछ । घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गर्नु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुरुमा रोकिएका सरकारी काम वा प्रशासनिक उल्झन सुल्झाउने राम्रो समय छ । तर सोमवार र मङ्गलवार बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने हुनसक्छ । दैनिक कामकाजमा खर्च बढ्ने छ । झर्कोलाग्दो यात्राको योग छ । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । साताको उत्तरार्द्धमा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । आम्दानीमा कमी हुने छैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ । समग्रमा यो साता मध्यम खालको समय छ ।