‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा शनिबारबाट ब्याटल राउण्ड सुरु हुने भएको छ । प्रतियोगिता अन्तर्गत गत आइतबार ‘ब्लाइण्ड अडिसन’ सकिएपछि ४८ जना प्रतिस्पर्धी ‘ब्याटल राउण्ड’मा भिड्न लागेका हुन् ।
ब्लाइण्ड अडिसन राउण्डमा नेपालका विभिन्न स्थानबाट आएका सयौँ प्रतियोगीमध्येबाट निर्णायकहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलले आफ्नो टिममा १२/१२ जना प्रतियोगी छनौट गरेका छन् ।
ब्याटल राउण्डअन्तर्गत अब प्रतियोगीहरुले आमने–सामने भएर एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उनीहरुलाई चारै निर्णायक तथा कोचहरुले प्रतिश्पर्धाका लागि तयार पार्नेछन् । ब्याटल राउण्ड निकै प्रतिस्पर्धी र रोमान्चक हुने अपेक्षा गरिएको छ, जहाँ प्रतिस्पर्धीहरु आपसमा गायनमार्फत भिडन्त गर्नेछन् ।
चार निर्णायक तथा कोचहरुका लागि ब्याटल राउण्ड निकै कठिन हुने देखिएको छ । आफ्नो टिमले उत्कृष्ट गरोस् भन्ने चाहना चारै निर्णायकमा हुने भएकाले पनि यो राउन्ड निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
नेपालमा अहिलेसम्मकै भव्य र रोमाञ्चक कार्यक्रमको रुपमा संचालन भईरहेको ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।