काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्यरत्न तुलाधरको निधनबारे समाचार नछुटाइकन छापेका पत्रिकाहरुले बोक्सी आरोपमा महिला कुटिएकोदेखि वैदेशिक रोजगारीको १० वर्षे दौरानमा भएका मृत्यु, मनलागी खर्च गर्न मन्त्रालयहरुले गरेको बजेट मागलगायत विषयमा उठाएका छन् ।
त्यसैगरी, कर्णाली प्रदेशका ठकेदार मन्त्रीले कार्यभार सम्हालेपछि ४ ठेक्का पारेको, महासमिति बैठकको नयाँ मिति तय गर्ने तयारीमा कांग्रेस जुटेको, मोदी फेरि नेपाल आउन लागेकोलगायत समाचार पनि आजको पत्रपत्रिकाको हेडलाइन बनेको छ ।
नयाँ पत्रिका दैनिकले आज वैदेशिक रोजगारीको १० वर्षे दौरानमा भएका नेपालीको मृत्यु तथा अंगभंगबारे मुख्य समाचार लेखेको छ ।
समाचार अनुसार पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ९ सय २१ कोफिनमा फर्किएका छन् । सबैभन्दा धेरै नेपालीको ज्यान मलेसियामा गएको छ । त्यसपछि साउदी, कतार र यूएई धेरै नेपालीले ज्यान गुमाउने वैदेशिक रोजगार गन्तव्य मुलुक हुन् ।
यस अवधिमा १ हजार २ सय ५२ भन्दा बढी अंगभंग भएका छन् । मलेसिया र खाडी मुलुकमा मात्रै ४ सय २७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । समाचार अनुसार यो तथ्यांक वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड स्थापनाको १० वर्षमा आर्थिक सहायता वितरण गरिएकाहरुको मात्रै हो । त्यसबाहेक गैरकानूनी हैसियतमा रहेका अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिको अवधि सकिएकाहरुको लेखाजोखा नै छैन ।
समाचार अनुसार विदेशमा रहेका १८ नेपाली कोमामा छन् ।
नयाँ पत्रिकामै कांग्रेस महासमिति बैठकबारेको समाचार पनि छ ।
बोक्सी आरोपमा महिलामाथि भएको कुटपिटलाई मुख्य समाचार बनाएको अन्नपूर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउन लागेको लेखेको छ ।
उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा नेपाल आउन लागेका हुन् ।
त्यही समयमा उनले भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ जनकपुर–जयनगर रेलवेको उदघाटन गर्ने समाचारमा उल्लेख छ ।
नागरिकले पद्यरत्न तुलाधरको निधनको खबरसँगै विराटनगरमा रेल आइपुगेकोलाई पनि पहिलो प्राथमिकताका साथ छापेको छ । भारतको बथनाहाबाट विराटनगर १८ स्थित बुधनगरमा रेल आइपुगेको नागरिकको समाचारमा उल्लेख छ । बथनाह–कटहरी रेलमार्गअन्तर्गत एकीकृत भन्सार जाँच चौकी नजिकको स्टेशनमा आइतबार दिउँसो रेल आइपुगेको हो ।
निर्माणाधीन रेलमार्गको बथनाहा–बुधनगर खण्डमा लिक परीक्षणका लागि रेलको इन्जिन ल्याइएको समाचारमा उल्लेख छ ।