काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी खरिदबारे निकालेको निष्कर्ष र गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको मुद्दा दायरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । त्यस्तै, रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको, राष्ट्रिय अनुसन्धान परिषदका प्रमुख दिलीपराज रेग्मी बर्खास्तमा परेकोलगायत खबरलाई पनि पत्रिकाहरुले पहिलो पृष्ठमा कभरेज गरेका छन् ।
केही दैनिक पत्रिकाले चर्चामा रहेका भन्दा भिन्न विषय पनि उठाएका छन् । नयाँ पत्रिकाले गौरवका आयोजनाको प्रगतिबारे सोधीखोजी गरेको छ भने अन्नपूर्णले सरकारी कार्यालयहरुको सेवाप्रवाहबारे सामग्री छापेको छ ।
सरकारले पानीको समुचित उपयोगका लागि देशभरि नदी बेसिन योजना बनाउन सुरु गरेकोबारे मुख्य समाचार लेखेको कारोबारले प्रतिष्पर्धाबाट कामदार छनोट गर्न नेपाल–जापान सहमत भएको लेखेको छ ।
समाचार अनुसार सरकारले जापानको रोजगारीलाई सुरक्षित, पारदर्शी र सर्वसुलभ बनाउन छुट्टै संयन्त्र विकास गर्ने गरी जापानसँग संवाद अघि बढाएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा विकृति र ठगी बढ्दै गएको भन्दै जापानको रोजगारीका लागि विश्वसनीय प्रणालीको विकास गरी सोही संयन्त्रभित्र रहेर कामदार पठाउने गृहकार्य सुरु गरेको छ । यसरी बनाएको संयन्त्रले योग्या, सीप र दक्षताका आधारमा रोजगारीका लागि जापान जाने नेपाली कामदारको छनोट गर्ने छ । छनोट प्रक्रियालाई पारदर्शी बनाउन तेस्रो पक्षको कुनै पनि संलग्नता नहुने गरी प्रणाली विकास गर्ने तयारी मन्त्रालयले गरेको समाचारमा उल्लेख छ ।
नयाँ पत्रिका दैनिकले अन्य दैनिक पत्रिकाहरुको भन्दा अलि फरक विषय राष्ट्रिय गौरवका आयोजनाका प्रगतिबारे सोधीखोजी गरेको छ । समाचार अनुसार राष्ट्रिय गौरवका आयोजनाको गति निराशाजनक छ । आयोजना घोषणा भएको सात वर्ष भइसके पनि कतिपय आयोजनाको डीपीआरसमेत बनेको छैन ।
कान्तिपुर, गोरखापत्र, अन्नपूर्ण, नागरिक र राजधानीको पहिलो पृष्ठ वाइडबडी खरिदबारे लेखाले निकालेको निष्कर्ष र गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको मुद्दा दायरका समाचारले भरिएका छन् ।
यसबाहेक कान्तिपुरले ‘सिंहदरबार बुटिक प्रशासनिक केन्द्र’ शीर्षक दिएर समाचार लेखेको छ ।
कान्तिपुर लेख्छ– सरकारले सोचेअनुसार गर्ने हो भने सिंहदरबारभित्रका मन्त्रालय एकैनासका बन्ने छन् । सबैको बाहिरी रुप एउटै बन्ने छ । २१ वटै मन्त्रालयललाई सुहाउने स्वरुप दिइने छ ।
नागरिकले हिमालपारि ताल जम्नेगरी चिसो बढेको लेखेको छ भने राजधानीले औषधिको मनोमानीबारे समाचार बनाएको छ ।