– भानुभक्त आचार्य
विद्युतीय कारोबार ऐनले उतिबेलै
इन्टरनेटमा लेख्न जोखिमपूर्ण बनाएथ्यो,
तर म चूपचाप बसें किनकि
मलाई इन्टरनेटमा लेख्नु थिएन ।
अखबारको खबर अनलाइनमा हाल्दा
बेलाबखत मान्छे गिरफ्तार हुन्थे,
तर म बोल्दै बोलिन किनकि
मेरो आफ्नै अनलाइन थिएन ।
अश्लील सामग्री भन्दै भटाभट
वेबसाइटहरु बन्द गराइयो,
तर मैले वास्तै गरिन किनकि
मेरो कुनै वेबसाइट थिएन ।
स्थानीय र प्रादेशिक सरकारले
सञ्चार स्वतन्त्रतालाई कस्दै लगे,
मलाई मतलबै भएन किनकि
मेरो कर्मथलो ती तहमा थिएन ।
कर्मचारीलाई सामाजिक सञ्जालमा
टिप्पणी लेख्न बन्देज गरियो,
मलाई यसको चासै भएन किनकि
म सरकारी कर्मचारी थिइन ।
शिक्षकलाई फेसबुक ट्विटरमा
नलेख्नू भन्ने उर्दी जारी भो,
म फेरि चूपचाप बसें किनकि
म स्थायी शिक्षक थिइन ।
अर्काको जागिरबाट दिक्क भएर
आफ्नै अनलाइन खोलुँ भनेको,
ट्विटर/फेसबुकमा लेखुँ भनेको,
नयाँ कानुन अनुसार अब उप्रान्त
‘भजन गाउन मात्रै मिल्ने’ रै’छ,
अब मसँग कुनै विकल्पै भएन ।
(यस्तो दिन नआओस् । आँखा खोलौं । संविधानप्रदत्त अधिकारको रक्षा गरौं ।)
(जर्मनीका Martin Niemöller को “First They Came” शीर्षक कविताको शैलीमा लेखिएको)
© भानुभक्त आचार्य