(माछा मार्ने क्रममा कोसी र कर्णाली नदीमा मारिएका डल्फिन ।तस्बिर सौजन्य : शम्भु पौडेल)कोसी र कर्णाली नदीमा माछासँगै विश्वमै दुर्लभ डल्फिनसमेत मारिने गरेको पाइएको छ । क्यालिफोर्नियाको युनिभर्सिटी अफ एरिजोनाबाट नेपालका नदीमा पाइने डल्फिनबारे विद्यावारिधि गरिरहेका शम्भु पौडेलको अध्ययनले कोसी र कर्णालीमा माछा मार्ने क्रममा डल्फिनसमेत मारिने गरेको औंल्याएको हो ।
‘कोसी र कर्णालीमा माछासँगै डल्फिनसमेत मार्ने गरिएको छ,’ अनुसन्धानकर्ता पौडेलले सोमबार कान्तिपुरसित भने, ‘हरेक वर्ष विभिन्न कारणले डल्फिनको संख्या घटिरहे पनि सरकारको ध्यान पुगेको छैन ।’ नेपालका डल्फिन संकटमा पर्दै गए पनि यिनको संरक्षण र अनुगमन सरकारको प्राथमिकतामा नपरेको उनको निक्र्योल छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को रातो सूचीमा सूचीकृत डल्फिन निकुञ्ज ऐनमा समेत संरक्षित सूचीमा छ । पौडेलले कोसी र कर्णालीसहित नारायणी र महाकाली नदीका डल्फिनबारे पनि अध्ययन गरेका छन् । ‘कोसी र कर्णालीमा मानवीय क्रियाकलाप बढेको छ,’ उनले भने, ‘चेतना अभावले माछासँगै डल्फिनसमेत मार्ने गरिएको छ ।’
महाकाली नदीमा सन् २००० पछि डल्फिन देखिएको छैन । कर्णालीमा ९ देखि १२, मोहनामा मनसुनको समयमा १४ र नारायणीमा एउटा डल्फिन भेटिएको छ । सन् २०१३ र २०१४ मा अध्ययन गर्दा कोसी ब्यारेजभन्दा तल १४ वटा डल्फिन भेटिएका थिए । ७ वर्षमै वयस्क हुने स्तनधारी डल्फिनले एकदेखि दुईवटासम्म बच्चा जन्माउँछ ।
बढ्दो तापक्रम, पानीको स्वादमा बदलाव र पानीको बहावका साथै माछा मार्न हालिएको जालको असर कोसीका फ्रेस वाटर डल्फिनले झेलिरहेको पौडेलले बताए ।
‘नदीमा डल्फिनको मुख्य आहार माछा प्रशस्त भए पनि मानवीय गतिविधिले तिनको परम्परागत बासस्थान खलबलिएको छ,’ उनले भने, ‘त्यसैले दिनप्रतिदिन यिनको संख्या घट्दो छ ।’ पहिला मानिसको नजिक नआउने डल्फिन अहिले मानिस र बस्तीको छेउछाउमै देखिनुलाई अनुसन्धानकर्ताहरूले आनीबानी बदलिएको संकेतका रूपमा लिएका छन् । ‘मान्छेले थापेको महाजालमा परेका माछा खान आएका बेला डल्फिनलाई समेत मार्ने गरिएको छ,’ पौडेलले भने ।
नदीमा बाँधजन्य समस्या र मानवीय गतिविधि डल्फिनलाई मुख्य चुनौती बनेको छ । बाँधका कारण डल्फिनलाई ओहोरदोहोर र तलमाथि गर्न मात्र होइन, आहारा खोज्नसमेत समस्या छ । ‘अत्यधिक माछा मार्न थालिएपछि आहारका लागि डल्फिनले पहिलाभन्दा धेरै संघर्ष गर्नुपर्ने देखिएको छ,’ पौडेलले भने । कोसीटप्पु वन्यजन्तु आरक्ष अर्ना र डल्फिनका लागि विख्यात भए पनि डल्फिन संकटमा छ । फ्रेस वाटर डल्फिन नदीको इकोसिस्टम अवस्थाबारे जानकारी दिने सूचक पनि हुन् ।