डीभी परेर अमेरिका भासिएका युवक श्रीमती र ससुराली बाट पिडित(पुरा नालीबेली सहित)

-श्रवण देव

जनकपुरधाम । मधेसमा श्रीमान र परिवारबाट पीडित महिलाहरुको कथा त तपाईंले धेरै पढ्नुभएको होला । तर, एउटा ठीक उल्टो घटना सार्वजनिक भएको छ, जहाँ श्रीमानले श्रीमतीबाट पीडित बनेको गुनासो गरेका छन् ।

लामो समय अमेरिकामा बसेर सम्पत्ति आर्जन गरेका जनकपुरधामका एक युवक श्रीमतीका कारण आफू घर न घाटको भएको बताउँछन् । आफैं आर्जन गरेको सम्पत्ति मात्र होइन, जनकपुरमै रहेको पुर्ख्यौली सम्पत्ति पनि गुमाएको उनको भनाइ छ ।

अमेरिकामा बसे पनि आफ्नै जात र धर्मकी युवतीसँग विवाह गरेका थिए जनकपुरधाम ५ का विजय साहले । तर, उनै श्रीमतीले सबै सम्पत्ति गुट्मुट्याएर माइतीलाई दिएपछि आफ्नो विचल्ली भएको उनले बताए ।

‘श्रीमतीलाई माया गरेर अमेरिका लगेँ, तर त्यहीँबाट उनले षड्यन्त्र रच्दै सारा सम्पत्ति हत्याइन्,’ विजयले पत्रकारहरुसँग भने । जनकपुरधामको दुई ठाउँमा रहेको घर र घडेरी पत्नी सरिताले छलपूर्वक आफ्नो आमा-बुवाको नाममा रजिष्ट्रेसन गराएको उनको भनाई छ ।

साहका अनुसार जनकपुरधाम ४ मा रहेको १ कठ्ठा जग्गासहितको घर र वडा नम्बर ५ मा रहेको १३ धुर जग्गा पत्नी सरिताले माइतीलाई नामसारी गरिदिएकी हुन् । सरिताले आफ्ना पिता वृजनन्दन साह र आमा मन्जुदेवीको नाममा रजिष्ट्रेशन गराएको विजयले बताए ।

‘अहिले आफ्नो सम्पत्ति फिर्ता माग्दा सासू-ससूराले त्यो त हामीले तिमीसँग किनेका हौं भनिरहेका छन्,’ उनले भने ।

विजयले अमेरिकाबाट आफूले कमाएको १५ लाख रुपैयाँ रकम पनि पटक-पटक गरी सरिताले आफ्नो माइतीमा पठाएको दावी गरे । त्यो रकम नदिए पनि जनकपुरको घर र घडेरी फिर्ता दिनुपर्ने बताउँछन् उनी ।

सरिताले यसरी गरिन् ‘छलकपट’

विजय सन् २००० तिर डिभी परेर अमेरिका हानिएका थिए । त्यसबेला उनको विवाह पनि भएको थिएन । पाँच वर्ष अमेरिकामा बसेर आउँदा उनले परिवारको आग्रहमा सरितासँग विवाह गरे । सुरुमा सरितालाई घरमा छाडेर उनी अमेरिका फर्किए । पछि प्रक्रिया मिलाएर श्रीमतीलाई पनि बोलाए ।

श्रीमतीलाई अमेरिका बोलाएको केही दिनपछि नै विजयले आफ्नी आमा गुलावदेवीलाई पनि अमेरिका ल्याए । त्यस बेलासम्म विजय र सरिताका दुई सन्तान अमेरिकामै हुर्किरहेका थिए ।

सरितालाई चौपट्टै माया गर्थे विजय र उनकी आमाले । श्रीमतीले त्यसको गलत फाइदा उठाएको उनी बताउँछन् ।

‘सुरुमा केही सम्पत्ति आफ्नो नाममा गरिदिन उनले आग्रह गरिन् । ज्यादै कर गरेपछि आमाले जनकपुर ५ स्थित जग्गा र घरको वारेस सरितालाई बनाइदिनुभयो,’ विजयले भने ।

वारेसनामा जनकपुरका कानुन व्यवसायी कौशलेन्द्रलाल कर्णलाई लेख्न लगाई विजयले अमेरिका मगाए । यसपछि गुलावदेवीले सही छाप गरेर बुहारीलाई दिएपछि सरिता खुशीका साथ रहन थालेको विजय बताउँछन् ।

त्यसपछि सरिताले नेपाली दूतावासमार्फत् उक्त वारेशनामा आफ्ना पितालाई पठाएको र त्यसैका आधारमा पिताले जायजेथा आफ्नो र आफ्नो पत्नीको नाममा रजिष्ट्रेशन गराएको विजयको भनाई छ ।

जग्गा सासू-ससूराको नाममा गएको थाहा पाएपछि विजय एक साताअघि घर आएका छन् । नेपाल आउनेबित्तिकै अमेरिकाबाट श्रीमतीले सम्वन्धविच्छेद गर्ने प्रस्ताव राखेको पनि उनले जानकारी गराए
कागभन्दा कोइली चलाख !

२०६८ साल असार २१ गते विजयकी आमा गुलावदेवीले बुहारी सरितालाई आफ्नो जायजेथाको वारेश बनाएकी थिइन् । जसअनुसार त्यो सम्पत्ति बेचबिखन गर्न, दान दिन, धरौटी राख्न सक्नेसम्म अधिकार सरितामा थियो । तर, उक्त जग्गा १० महिना नबित्दै सरिताका माता, पिताको नाममा रजिष्ट्रेशन पास भएको देखिन्छ । सोही सालको चैत २२ गते जिल्ला मालपोत कार्यालयमा रजिष्ट्रेशन भएको छ ।

हुन त वारेसनामा भए पनि यो जग्गा अर्काको नाममा रजिष्ट्रेशन नहुनुपर्ने थियो । आफूले वारेसनामा बनाउँदा चलाखी गरेर जग्गाको कित्ता नम्बर गलत लेखाएको विजय बताउँछन् । वास्तविक कित्ता नम्बर १ सय ८६ हुनुपर्नेमा वारेसनामामा १ सय ९६ लेखाइएको थियो । त्यसका बाबजुद एक सय ८६ नम्बरकै जग्गा रजिष्ट्रेशन भयो । बृजनन्दनको नाममा रजिष्ट्रेशन भएपछि बनेको जग्गाधनी लालपूर्जामा कित्ता नम्बर १८६ नै उल्लेख गरिएको छ ।

‘केही गडबड गर्न सक्छे भनेर मैले वारेशनामामा कित्ता नम्बर फरक पारेर लेख्न लगाएको थिएँ,’ विजयले भने, ‘तर कर्मचारीले थप बदमासी गरे ।’

वास्तविक वारेस सरिता अमेरिकामै रहँदा पनि जग्गा उनको आमा-बुवाको नाममा गएको उनले बताए । विजयले अहिले यहाँ आउँदा सासू-ससूराले जग्गा किनेको बताएर फिर्ता दिन नमानेको विजयको गुनासो छ ।

‘ससुरालाई बेचेको भए मलाई रकम दिएको हुनुपर्थ्यो नि,’ विजय भन्छन्, ‘मेरो बैंक खातामा रकम दिएको कुनै प्रमाण छ भने देखाउनुपर्‍यो ।’

‘आइफोन पनि खोसे’

जग्गा सासू-ससूराको नाममा गएको थाहा पाएपछि विजय एक साताअघि घर आएका छन् । केही महिनाअघि अमेरिकामै उनले जग्गा सासू-ससूराको नाममा गइसकेको थाहा पाएका थिए । यसपछि श्रीमतीसँग सोध्दा कुनै वास्ता नगर्ने गरेको उनी बताउँछन् ।

धेरै कर गरेपछि श्रीमतीले ‘बुवासँग कुरा भइसकेको छ, तपाईं घर जानुस् फिर्ता गरिदिनुहुन्छ’ भनेपछि आफू जनकपुर आएको उनको भनाइ छ ।

यहाँ आएर जनकपुर-५ स्थित आफ्नै घर पुग्दा ससुरा र ससुराली पक्षले उल्टै हप्काएको बताए उनले । ‘उनीहरुले कुटपिट गर्दै मेरो आइफोन पनि खोसे,’ विजयले भने, ‘कुन जग्गा माग्न आएको ? भन्दै हप्काए पनि ।’ उनी अहिले आफ्नो दिदीको घरमा बसिरहेको बताउँछन् ।

नेपाल आउनेबित्तिकै अमेरिकाबाट श्रीमतीले सम्वन्धविच्छेद गर्ने प्रस्ताव राखेको पनि उनले जानकारी गराए ।

‘बल्ल बुझेँ, यो सबै श्रीमतीकै चाला हो,’ उनले भने, ‘यत्रो वर्ष अमेरिकामा कमाएर आर्जेको सम्पत्ति लिन उनले सम्बन्ध विच्छेद गर्न चाहेकी छन् ।’

अमेरिकामा ट्रक चालकको काम गरेर विजयले त्यहाँ ३ लाख अमेरिकी डलरमा घर खरीद गरेका छन् ।

‘बुवा, आमाको देहान्त भएपछि आधा सम्पत्ति लिएर श्रीमतीले सम्बन्ध विच्छेद गर्ने बताएपछि म घर न घाटको भएको छु,’ ३७ वर्षीय विजयले भने, ‘आफ्नै श्रीमतिले यस्तो हालमा पुर्‍याउँछन् भन्ने कल्पनासमेत गरेको थिइनँ ।’
समाचार श्रोत : हाम्रो पात्रो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार