-इर्फान अलि
वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । बुधबार बिहान १० बजेको समयमा हेटौँडास्थित क्षेत्रीय कार्यालयबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले अस्पतालमा छापा मारेको हो ।
अस्पतालमा भएको भ्रष्टाचारबारे एक सातादेखि सञ्चारमाध्यममा समाचार आएपछि अख्तियारको टोली छापा मार्न पुगेको हो । छापा मार्ने क्रममा अख्तियारको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एनामुल हकसँग सोधपुछ गरिरहेको छ ।
अख्तियारको टोली अढाई घण्टादेखि अस्पताल प्रशासनमै रहेर भ्रष्टाचारबारे सोधपुछ गरिरहेको छ । मेडिकल सुपरिटेन्डेन्ट हकमाथि सामान खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । अख्तियारको टोलीले अस्पतालको कागजपत्र पनि नियन्त्रणमा लिएको छ ।
सप्लायर्सले सस्तोमा ठेक्का सकार गरेको अवस्थामा नारायणी अस्पताल प्रशासनले हाइड्रोजन परअक्साइड करिब १३ गुणा भन्दा बढी मूल्यमा किनेको कुरा सार्वजनिक भएको थियो । चालु आर्थिक वर्ष २०७५र०७६ लाई चाहिने उक्त औषधि महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकारेको थियो । तर अस्पतालको स्टोर शाखाले ९ सय ४ रुपैयाँमा बजारबाट खरिद गरेको रहस्य सञ्चारमाध्यमले खोलेका थिए ।