काठमाडौं ।
पोलिट्व्यूरो गठनको तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गुट समस्या बनेको छ । पूर्वएमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका दुई गुट अगाडि रहेको नेताहरुले नै बताउने गरेका छन् । पूर्व माओवादीमा सबैलाई समेट्न नसक्दा समस्या रहेको बताइएको छ ।
गत बैशाख ९ गते नै जिल्ला कमिटीसँगै पोलिट्व्यूरो पनि घोषणा गर्ने नेकपाका शीर्ष नेताहरुले बताएका थिए । तर, गुट मिलाउन नसकेका कारण घोषणा रोकिएको बताइएको छ ।
१ सय ४७ सदस्य रहेको पोलिट्व्यूरो गठन गर्ने नेकपा सचिवालयले निर्णय गरेको छ । त्यसमध्ये पूर्व एमालेबाट ८१ र पूर्व माओवादीबाट ६६ सदस्य भाग लगाइएको छ । पार्टीमा रहेको गुटका कारण घोषणामा ढिलो भएको नेकपा नेताहरुको भनाइ छ ।
जनवर्गीय संगठन र केन्द्रीय सदस्यको कार्य विभाजनमा समेत नेकपामा सहमति वन्न सकेको छैन । यतिवेला, सहमति जुटाउन वरिष्ठतालाई आधार बनाउनुपर्ने नेकपाभित्र बहस सुरु भएको छ ।
एक वर्ष भित्र एकता महाधिवेशन सम्पन्न गर्ने नेकपाले भनेपनि जिल्ला कमिटीको पूर्णता, पोलिट्व्युरो गठनमा ढिलाई हुँदा नेताहरु नै विश्वस्त बन्न सकेका छैनन् ।