चतरा घाटमा ९ दिनपछि रिना बस्नेतको भयाे दाहसंस्कार, आन्दोलनमा आफन्तको असन्तुष्टि !

मोरङ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा ९ दिनअघि गत शनिबार नग्न अबस्थामा मृत फेला परेकी २९ वर्षिया रुपा भनिने रिना बस्नेतको आइतबार दाहसंस्कार गरिएको छ । घटनाको अनुसन्धानलाई प्रभावकारी बनाएर जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा शवको अन्त्येष्टी गरेका हुन् । वीरबहादुर बस्नेतको घरको तीन तलामाथि १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी रिना यही बैशाख ७ गते शनिबार विहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन । बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भनेर पथरी उद्योग वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर स्थानीय बासिन्दा आन्दोलित बनेका थिए ।

आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २९ सेल अश्रुग्यास प्रहार गर्दा ५ जना घाइते भएका थिए । झडपमा परेर तीन प्रहरी पनि घाइते भए । हत्यामा संलग्नलाई कारवाही हुनु पर्ने, शान्ति सुरक्षा कायम गर्नु पर्ने, महिला हिंसा बन्द गर्नु पर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएकाले शनिबार इलाका प्रहरी कार्यालय पथरी अगाडि धर्ना पनि दिए ।

शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टले पनि छात्ती भित्र तथा टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको देखाएको र हत्या भएको प्रमाण अहिलेसम्म फेला नपरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरेको कुरा पोस्टमार्टम रिपोर्टले देखाउँदैन ।

‘अहिलेसम्मको अनुसन्धानले हत्या भएको र त्यसमा कोही कसैको संलग्नता रहेको देखाउँदैन,’ श्रेष्ठले भने, ‘माथिबाट झरेका कारण मृत्यु भएको कुरा पोस्टमार्टम रिपोर्टले पनि बोल्छ ।’ विभिन्न परीक्षणका लागि फरेन्सिक ल्याब (विधी विज्ञान प्रयोगशाला) पठाइएको र त्यसको रिपोर्ट भने प्राप्त भइनसकेको उनको भनाइ छ । श्रेष्ठले फरेन्सिक रिपोर्ट आइसकेपछि थप कुरा खुल्ने र विष वा मदिरा सेवन केही गरेको भए पत्ता लाग्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार