माओवादी द्वन्द्वले बेपत्ता बनाएका ‘काले’ १७ वर्षपछि फर्किए घर

-रिदम सिंह

बझाङ । माओवादी द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती ‘काले’ झण्डै १७ वर्षपछि घर फर्किएका छन् । ४–५ वर्षको उमेरमा सबै कुराको राम्रोसँग ज्ञानसमेत नभएका बेला उनी माओवादी युद्धका कारण घरबाट दिदीसँगै हिडेका थिए ।

आफ्नै घरबाट २०६०/२०६१ सालतिर तत्कालीन नेकपा माओवादीले उनकी दिदी मन कुमारीलाई आफूसँगै लगेका थिए । दिदीसँगै कालेलाई पनि हिडाए । माओवादीले उनलाई सानैमा आफुसँग हिडालेपछि उनले ठूलो हुँदासम्म आफ्नो घरबार नै बिर्सिसकेका थिए ।

कालेकी दिदी मन कुमारीको नेकपा माओवादी र नेपाली सेनाबीच दोहोरो भिडन्त हुँदा रोल्पाको लिबाङ्गबाट बेपत्ता भएकी थिइन् । उनी हराएपछि कालको अवस्था पनि अज्ञात बन्यो । माओवादीले त्यसपछि उनी सानै भएकाले आफूसँग हिडाउन छोड्यो । दिदीको उमेर १५ वर्षको हुँदा उनी माओवादीमा लागेकी थिइन्, त्ययतिबेला कालेको उमेर ४–५ वर्ष रहेको उनी सुनाउँछन् ।

माआवादीबाट उम्किए पनि उनले आफ्नो घर जाने बाटो पत्ता लगाउन सकेनन् । आफ्नो गाँउघरसम्म पुग्नका लागि धेरै कोसिस गरे पनि केही लागेन । धेरै संग हार गुहार समेत गरे । धेरैसँग घरसम्म पुर्र्यादिन आग्रह गर्दा उनले जोसँग अनुरोध आग्रह गरे उनीहरुले उल्टै आफुहरुले पाल्ने भन्दै आफैसँग बस्न अनुरोध गर्थे । पछिल्लो समय उनी बझाङमा थिए । आफुले सबै कुराको आशा मारे पनि घर जाने आशा भने नमारेको बताउथे । नभन्दै उनी हालै मात्र घर पुग्न सफल भए ।

यसरी घर पुगे काले

बझाङको खप्तड–छान्ना गाँउपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाको सम्पर्कमा आएपछि काले घर पुग्न सफल भएका हुन् । अध्यक्ष रोकायाले उनको बारेमा जानकारी लिन खोज्दा उनको घर रोल्पाको दुर्गम गाउँ माणी गाँउपालिका वडा नम्बर– १ मा भएको पत्ता लागेको हो । त्यसपछि नै रोकायासहितको टोलीले शनिबार गाँउपालिकाकै खर्चबाट उनलाई घरसम्म पुर्याइदिएका छन् ।

आफ्नो थर र गाँउको कुनै पनि याद नभएका प्रतापसिंह घर्ती कालेलाई चिउरी घाट खोला र आफ्नो गाउँघरको सामान्य याद अझैसम्म रहेछ । जुन गाउँपालिका अध्यक्षसामु सुनाएका थिए उनले । सोही आधारमा उनको घर पत्ता लागेको हो ।

गाँउपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई समेत यो विषयमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला प्रशासन कार्यालय रोल्पामा समेत बुझ्न पठाए । विभिन्न मिडियामा समेत समाचार प्रकासन भयो । खोजी गर्दै जाँदा अन्त्यमा उनको घरसमेत पत्ता लाग्यो ।

हराएको खुसी फर्कियो : बुबा

उनका बुबा खलवीर घर्तीले छोराको आश मारिसकेका थिए । ‘कुनै भीडन्तमै परेर छोराको मृत्यु भैसकेको होला भन्ने सोचेर आशा नै मारिसकेका थियौँ,’ उनले भने, ‘छोरा जीवितै रहेछ । हामीले छोराको खोजी त धेरै गरेका थियाँै । तर कतै पनि पत्ता नलागेपछि जीवितै फर्कने कुनै आशा थिएन । धन्न छोरा जीवितै रहेछ र आज फर्कियो ।’

उतिबेलाको सानो तोतेबोली बोल्ने छोरा आज २०–२१ वर्षको भएर आफैँअघि उभिएको देख्दा बुबा मात्रै होइन, उनका छिमेकीसहित सबैका आँखा रसाए ।

कालेलाई उनकै घरमा पुर्याउन गएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिव शैलेन्द्र रोकायाले भने ‘हामी घर्तीलाई उनकै घर सम्म पुर्याउन गएका थियौँ । घरमा पुग्दा छिमेकीहरु सबै जम्मा भए र निकै स्वागत समेत गरे । सबैले युद्धकालमा नै मृत्यु भैसकेको भनेर आशा नै मारिसकेका रहेछन् । प्रतापसिंह घर्ती काले पनि आफ्नो जन्मभुमि पुग्दा बेसरी रोए ।’

‘सडक नै थियो मेरो घर’

‘तत्कालीन माओवादीबाट भागेपछि कहिले सडकपेटीमा, कहिले बीच जंगलमा, जहाँ पायो त्यही सुत्दै रात बिताएँ, जेपायो त्यही खाँदै भोक मेटाएँ’, उनले ती दर्दनाक दिनहरु सम्झिए, ‘ठूलो भएपछि त कसैको होटेलमा भाँडा माझेर, कसैको भारी बोकेर, कसैको जीप–बसमा खलासीको काम गरेर एक छाक खान पाउथेँ ।’

मजदुरीको काम गर्दा गर्दै उनी ठेकेदारमार्फत निर्माण मजदूरका रुपमा बझाङ आइपुगेका रहेछन् । यहाँ खप्तड–छान्ना गाँउपालिकामा पुगेपछि नै उनको भेट गाँउपालिकाका अध्यक्ष रोकायासँग भएको हो ।

फेरिएकाे छैन छानाे

माओवादीले व्यवस्था मात्र होइन जनताको जीवन नै फेर्ने उद्घोषका साथ लडाइँ गरे पनि सो लडाइँको सिकार हुने कालेजस्ता तमाम जनताको जीवन उस्दै छ । उनको खरको घर अझै उहीँ छ ।

‘खरले छाएको सानो झुपडीमा बसोबास गर्ने हामीहरुको अवस्था अझै उस्तै छ,’ प्रतापसिं उर्फ कालेका बुबा खलविरले भने, ‘जे होस् मरिसक्यो भनेर आशा नै मारिसकेको छोरा फर्किएर आउँदा खुसी लागेको छ ।’

आखाँ टिलपिल गर्दै उनले थपे, ‘खै दुनियाँ कहाँ पुगिसक्यो, हाम्रो उही नियति हो । हामीजस्तैका लागि लड्दै छु भन्ने माओवादीले गर्दा छोराछोरीको वियोग सहेर बसियो… । छोरालाई कति गाह्रो भयो होला । तर हाम्रो अवस्था भने केही पनि फरक भएको छैन । हाम्रा लागि परिवर्तन अझै भएन । त्यही हुने खानेहरुका लागि नै परिवर्तन भएको होला नि ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार