एजेन्सी ।
छाला धेरै समयसम्म सिधा घाममा परिरहँदा त्यसले क्यान्सरलगायत विभिन्न जटिल समस्या उत्पन्न गराउन सक्छ । जसकारण सनस्क्रिनको प्रयोग धेरै देशहरुमा अनिवार्य गरिएको छ । तर घामबाट बच्नका लागि प्रयोग गरिने तिनै सनस्क्रिनमा हुने केमिकलजन्य पदार्थ सिधै हाम्रो शरीरले सोसेर रगतसम्म पुग्ने गरेको अमेरिकी खाद्य तथा औषधि विभाग, एफडीएले सार्वजानिक गरेको अध्ययनमा उल्लेख गरिएको छ ।
सोमबार अमेरिकन मेडिकल असोसिएसनले प्रकाशित गरेको जर्नलमा व्यवसाियक रुपमा उपलब्ध सन क्रिमहरुको परीक्षण गरिएको थियो । यसमा एएफडीएले विशेषगरी सनस्क्रिनमा हुने चार केमिकल– एभोबेन्जोन, अक्सिबेन्जोन, इक्यामसुल र अक्टोक्राइलिनको अध्ययन गरेको हो जसमा चारैवटा छाला भित्रसम्म पुगने गरेको पाइएको थियो । तर यीमध्ये पनि अक्सिबेन्जोनलाई अन्य केमिकलको तुलनामा शरीरले ५० देखि १०० गुणा बढी सोस्ने गरेको पत्ता लागेको हो । यसरी सनस्क्रिनमा हुने सबै केमिकल मध्येमा अक्सिनोबेन्जोनलाई एलर्जीको प्रमुख कारक मानिदै आएको छ ।
त्यसैगरी २००८ मा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको एउटा सरकारी अध्ययनमा दशजना व्यक्तिहरुको मुत्र परीक्षण गर्दा पनि ९७ प्रतिशत नमुनामा अक्सिनोबेन्जोन भेटिएको थियो । यस्तोमा किशोरहरुमा टेस्टोस्टेरोन हर्मोनको कम उत्पादन र अक्सिनोबेन्जोन सम्बन्धित रहेको पाइएको हो । त्यसै समयदेखि अक्सिनोबेन्जोनले पुरुषहरुको हर्मोनमा बदलाव ल्याउने, गर्भावस्थालाई छोटो बनाउने र भर्खर जन्मिएका बालबालिकाहरुको तौलमा अनियमितता उत्पन्न गराउने गरेको बताइँदै आएको छ ।
गत महिना मात्र एफडीएले नै गरेको अध्ययनपछि सनस्क्रिनमा हुने जिन्क अक्साइड र टिटानम डाइअक्साइड हानिकारक नरहेको बताइएको थियो तर सन क्रिम बनाउन प्रयोग हुने अक्सिनोबेन्जोन, अक्टिनोअक्सेट लगायत अन्य १२ पदार्थहरुबारे चाहिँ थप अध्ययन आवश्यक रहेको र त्यसपछि मात्र आधिकारिक रुपमा तिनलाई सुरक्षित घोषणा गर्न सक्ने भनिएको थियो । यसरी सनस्क्रिनमा हुने केमिकल जन्य पदार्थ एकै दिनमा हाम्रो छालाबाट रगतसम्म पुग्ने गरेको बताइएको छ ।
तर अर्कोतर्फ विज्ञहरुले यो अध्ययन सनस्क्रिनको प्रयोगमा पूर्ण रोक लगाउन सार्वजानिक नगरिएको बताइरहेका छन् । यसको एक मात्र उद्देश्य सनस्क्रिन उत्पादन गर्नेहरुलाई ती केमिकलले हामीलाई कत्तिको नोक्सान पुर्याउँछन् भन्ने अध्ययन गर्न लगाउनु रहेको इन्भारोमेन्टल वर्किङ ग्रुपका वरिष्ठ सरकारी अधिकारी स्कट फेबर बताउँछन् ।
यसैगरी येल स्कुल अफ मेडिसिनका छाला सम्बन्धि विशेषज्ञ डाक्टर डेभिड लेफेलले पनि हाम्रो रगतसम्म ती केमिकल पुग्दा स्वास्थ्यमा कस्तो असर पर्छ भनेर स्पष्ट जानकारी हासिल गर्न अझै अध्ययन गर्नुपर्ने बताएका छन् । त्यसकारण अझैपनि घामबाट सुरक्षित रहन अतिआवश्यक रहेको बताइएको छ । अनुसन्धानका क्रममा सहभागिहरुलाई ती चार केमिकल भएका क्रिम लगाउन भनिएको थियो जसपछि रगत परीक्षण गर्दा तिनको रगतमा पनि विभिन्न मात्रामा ती केमिकल पाइएको हो जसपछि नै यस्तो निष्कर्ष निकालिएको थियो । सीएनएनबाट