सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ले पोलिटब्युरो सदस्य टुंगो लगाएको छ । तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि औपचारिक घोषणा भने सचिवालय बैठकपछि गर्ने तयारी छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधव नेपाललगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको हो । ओली स्वदेश फर्किएपछि सचिवालय बैठक बसेर औपचारिक रुपमा पोलिटव्यूरो सदस्यहरुको नाम पारित गर्ने तयारी छ ।
ओली फर्किएपछि बस्ने बैठकमा कार्य विभाजन, पोलिटब्युरो र जनवर्गीय संगठन एकीकरणको प्रस्ताव पातिर हुने नेताहरुले बताएका छन् । प्रदेश कमिटीका अध्यक्ष र सचिवलाई पोलिटव्यूरो सदस्य बनाउने प्रस्तावमा सहमति नजुटेपछि मापदण्डमा पर्ने मात्रै पोलिटब्युरो सदस्य हुने छन् । तर, केही नेताले प्रदेश कमिटी अध्यक्ष र सचिवलाई स्वतः पोलिटब्युरोमा नपार्दा संगठन सञ्चालनमा समस्या हुने तर्क गरिरहेका छन् ।
साबिक एमालेबाट तत्कालीन पोलिटव्यूरका ५९ जना सदस्यबाहेक २३ जना नयाँ थपिने छन् । दुईपटक भन्दा बढी केन्द्रीय सदस्य भइसकेका र पाँचांै महाधिवेशनमै केन्द्रीय सदस्य भए पनि हालसम्म पोलिटब्यूरोमा नपुगेमध्येबाट ल्याउने सहमति नेताहरुबीच भएको छ ।
यसअघि पोलिटब्युरो सदस्य भएका, तर नवौं महाधिवेशनमा हारेकाहरु पनि सो मापदण्डमा परेका छन् । पूर्वमाओवादीबाट ६२ जना पोलिटव्यूरो सदस्यमध्ये हाल स्थायी कमिटी तथा सचिवालयमा रहेका १९ जना स्वतः पर्नेछन् । अरु तत्कालीन ९९ सदस्यीय सचिवालयभित्रबाट छानिएका छन् ।
नेकपाको पोलिटब्युरो केन्द्रीय समितिको एकतिहाई हुने गरि १ सय ४७ सदस्यीय हुने छ ।