समाजवादी पार्टीले भन्यो : “हाम्रा अध्यक्षलाई आचार संहिताविपरित प्रश्न सोधियो “

काठमाडौं|

संघीय समावादी पार्टीले एभिन्युज टेलिभिजनका पत्रकारले आफ्ना अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई पत्रकार आचार संहिताविपरित प्रश्न सोधिएको बताएको छ। आइतबार साँझ उक्त टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा पत्रकारले अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको भन्दै समाजवादी पार्टीले उक्त घटनाको निन्दा गरेको छ।

केन्द्रीय कार्यालयका उपमहासचिव प्रकाश अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै यस्ता घटनाबाट उत्तेजित नहुने कार्यकर्तालाई निर्देशन दिइएको जनाएका छन्।

‘मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आउनु भएका अध्यक्ष यादवसहित समाजवादी पार्टी नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैँ सम्मान गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘तसर्थ, आइतबार राति एभिन्युज टेलिभिजनको कार्यालयमा भएको दु:खद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एंव आम कार्यकर्तालाई निर्देश गर्दछौं।’

यसअघि यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्कन्छन्।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भइरहेको छ।

एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ।

समाजवादी पार्टीका कार्यकर्ताले आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ।कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार