सिड्नी।
अस्ट्रेलियन लेबर पार्टीले पनि न्यु साउथ राज्यमा नेपाली सामुदायिक केन्द्र बनाउन एक मिलिएन डलर सहयोग गर्ने घोषणा गरेको छ ।
१३ मे सोमवार सिड्नीको दक्षिण मोर्टडेलमा आयोजित भेलामा ब्याङ्स निर्वाचन क्षेत्रका लेबर पार्टीका उम्मेद्दवार क्रिस गाम्बिएनले यो सहयोग घोषणा गरेका थिए ।
कार्यक्रममा छायाँ नागरिकता र बहुसास्कृतिक मन्त्री टोनी बुर्क र क्रिस गाम्बिएनको संयुक्त बिज्ञप्ति जारी गर्दै नव आगन्तुक बहुसास्कृतिक समुदायका लागि आवश्यक पूर्वाधार निमार्ण गर्न यो घोषणा भएको जानकारी दिइएकाे थियाे । सामुदायिक केन्द्र कहाँ र कस्तो बन्ने भन्ने बारेमा समुदायसँगको राय सल्लाहमा निर्णय गरिने गाम्बिएनले नेपालीपत्रलाई बताए ।
कार्यक्रममा नेपाली फेण्ड्स अफ लेबरको तर्फबाट गोवा कटुवाल, गणेश केसी, तिर्थराज कार्की लगाएतले यो घोषणाको स्वागत गर्दै समुदायको आवश्यक्ता बुझेकोमा लेबर पार्टीलाई धन्यवाद दिएका थिए ।
दुइ दिन अघि अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री तथा लिबरल पार्टीका नेता डेभिड कोलम्यानले आफ्नो पार्टीले पुनः जित हासिल गरेमा नेपाली सामुदायिक भवन निर्माणका लागि एक मिलिएन डलर सहयोग गर्ने घोषणा गरेका थिए ।
नेपालीहरुको आफ्नै सामुदायिक भवन निर्माणार्थ सहयोगका लागि नेप्लिज अष्ट्रेलियन एसोसिएसन मार्फत् बर्तमान सरकारलाई सहयोगको प्रस्ताव बुझाइएको थियो ।
अस्ट्रेलियामा आगामी मे १८ तारिखमा संघीय निर्वाचन हुदैछ ।