काठमाडाैं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताउनु भएको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको उद्घाटन गर्दै सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उहाँले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताउनुभयो ।
अमेरिकामा पनि पत्रकारलाई एक करोडसम्मको जरिवाना हुने गरेको बताउँदै उहाँले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको उल्लेख गर्नुभयो । संसदमा पेश गरिएका विधेयक मर्यादित र जिम्मेवार भएर अन्तर्राष्ट्रिय प्रचलन हेरेर पेश गरिएको बताउनुभयो ।
संसदमा पेश गरिएको विधेयकको बहिष्कार गर्नुको अर्थ नभएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘बहिष्कार आदि इत्यादिको अर्थ छैन। सत्ता लुछेर, कू गरेर आएको चिज होइन। यो जनताद्वारा निर्वाचित सरकार हो।’ उहाँले सत्ता हेरेर कानून नबन्ने पनि बताउनुभयो । ‘सत्ता हेरेर कानून बन्दैन, लोकतन्त्र हेरेर कानून बन्नुपर्छ, संविधान हेरेर कानून बन्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थिरतालाई भत्काउने केही तत्व सक्रिय भएको बताउँदै प्रश्न गर्नुभयो, ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ? के संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न सक्छ, छेक्न मिल्छ ?’
समाचार लेखेर कोही पनि पक्राउ पर्दैन भन्दै उनले गलत मिशनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानुन सक्रिय हुने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘आर्थिक सुनिश्चितता त्यसको पहिलो आधार बन्छ, अनि मात्र स्वतन्त्र प्रेस हुन्छ, सम्पादकीय स्वतन्त्रता बाँकी रहन्छ। हामीले गर्न खोजेको त्यत्ति हो।, नियमन हामी गर्छौं, संसारभरि नै यो हुन्छ।’
संविधानभन्दा बाहिर कुनै पनि कानुन नबन्ने बताउँदै उनले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने बताउनुभयाे । कोही साथी कुरै नबुझी दौडिरहेको बताउँदै उहाँले भन्नुभयाे, ‘तपाईंले लेखेपछि जवाफदेहिता बोक्नुपर्छ, पुष्टि गर्नुपर्छ। त्यत्तिकै आरोप लगाउन पाइँदैन।’ सरकारले अहिले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न खोजेको भन्दै उहाँले यसले साना मिडियालाई सहयोग पुग्ने पनि बताउनुभयाे ।