धनगढी
धनगढीमा विभिन्न राजनीतिक दलको आमसभा, सम्मेलन जस्ता कार्यक्रम हुँदै आएको छ । त्यस्ता कार्यक्रममा सोफा वा कुर्सीमा बसेका देखिन्छन्, नेताहरु । जनता प्रायः भुईमा । तर, शनिबार धनगढीको पार्क मोडमा भएको साझा विवेकशील पार्टीको कार्यक्रममा भने फरक दृश्य देखियो । जहाँ कुर्सीमा थिए जनता, नेताहरु भने उभिएका थिए भुईमा । करिब दुई घण्टासम्म चलेको सो पार्टीको भ्रष्टाचार विरुद्धको अभियान कार्यक्रममा पार्टी संयोजक रविन्द्र मिश्रसहितका केन्द्रीय सबै नेता कार्यक्रम अवधिभरि उभिएरै सम्बोधन पनि गरेका हुन ।
कार्यक्रममा एक सय वटा कुर्सी राखिएको थियो । सो पार्टीका कार्यकर्ता पनि नेताहरुसंगै उभिएका थिए । कार्यक्रममा सहभागी हुन आएका महिला, अशक्त र ज्येष्ठ नागरिकलाईमात्रै कुर्सीको व्यवस्था गरेको साझा विवेकशील पार्टी कैलालीका प्रकाशचन्द्र भट्टले जानकारी दिए ।
‘सार्वजनिक रुपमा कार्यक्रम गर्दा आसन ग्रहण गर्ने, गराउने कार्य हाम्रो पार्टीले गर्दैन’, उनले भने–‘अशक्त, महिला र ज्येष्ठ नागरिकका लागिमात्रै कुर्सीको व्यवस्था गरेका थियौं ।’
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले भ्रष्टाचारको खाडलबाट जनतालाई निकाल्न आवश्यक रहेको बताए । ‘काङ्ग्रेस र कम्युनिष्टले यो देशमा यसरी राजनीतिकीकरण गरेर भ्रमित गरेका छन् की जनतालाई त्यसबाट निकाल्नै गाह«ो छ’, उनले थपे–‘अब बाटो नबद्लिएसम्म देश बद्लिदैंन, देश नबद्लिएसम्म कसैको भविष्य बद्लिदैंन ।’
उनले सर्वहाराको नाममा राजनीति गर्ने कम्युनिष्टले सर्वहाराको हित कहिल्यै नगरेको उल्लेख गरे । ‘पहिले कम्युनिष्टको शक्ति सर्वहारा थिए’, मिश्रले भने–‘अब सर्वहाराको शत्रु कम्युनिष्ट भएका छन् ।’
नेपाली काङ्ग्रेस लोकतन्त्रको खम्बा भए पनि अहिले उसैले त्यो खम्बा भत्काइरहेको मिश्रको आरोप थियो । उनले गैर इमान्दार, भ्रष्ट, असक्षम नेतृत्वका कारण सुदूरपश्चिम मुलुकको अन्य क्षेत्रको तुलनामा पछाडि परेको बताए ।
यसैगरी, केन्द्रीय सदस्य मुमाराम खनालले मुलुकमा उत्पन्न समस्याप्रति गम्भीर भएर सोंच्ने र समाधानतर्फ जाने काम राजनीतिक नेतृत्वले नगरेको आरोप लगाए । उनले समावेशी र सहभागितात्मक लोकतन्त्र चाहिएको बेला नेताहरुले समावेशी र सहभागितात्मक भ्रष्टाचार सुरु गरेको आरोप लगाए । ‘त्यसैले लोकतन्त्र नै खतरामा छ’, खनालले भने–‘भ्रष्टाचारको गोलीले नेताहरु आफैलाई र मुलुकलाई सिध्याइरहेको छ ।’
उनले समाजवादी अभ्यासको नाममा मुलुकलाई माफियाको हातमा सुम्पिने कार्यसमेत भएको बताए । नेता खनालले टाउको काटेर सत्तामा पुगेकाहरुलाई टाउको गनेर सत्ताच्यूट गर्ने बेला आएको उल्लेख गरे । भ्रष्टाचारको जरालाई पानी दिने कार्य राजनीतिबाट भइरहेको खनालको भनाइ थियो । उनले भ्रष्टाचार विरोधी आन्दोलन सबैको साझा रहेको बताउँदै राजनीतिक दलका सम्पूर्ण भातृसंगठन खारेज नगरिएसम्म मुलुकमा विकास नहुने बताए ।
यसैगरी, सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले राजनीतिक अस्थिरताका कारण मुलुकमा भ्रष्टाचार बढेको बताए । उनले ठूलो माछा काण्डै काण्डले भरिएको बताउँदै थपे–‘सभ्य सरकार भएको भए आज दर्जन बढी मन्त्री, नेता, कर्मचारी जेलमा हुन्थे ।’ राज्यको संयन्त्र नै सेटिङ्मा चलिरहेको आचार्यको भनाइ थियो ।
कार्यक्रमलाई केन्द्रीय सदस्य केशव दाहाल लगायतका नेताले सम्बोधन गरेका थिए । उक्त पार्टीले शनिबार नै फूलबारीमा पनि भ्रष्टाचार विरुद्धको अभियान कार्यक्रम गरेको छ ।