राजपाका केन्द्रीय सदस्यको कीर्ते काम, भए यसरी जेल चलान

सप्तरी ।

कीर्ते उपभोक्ता समिति गठन गरेको आरोप लागेका राष्ट्रिय जनता पार्टी (राजपा) का दुई केन्द्रीय सदस्यलाई जेल चलान गरिएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले कीर्ते गरी उपभोक्ता समिति गठन गरी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ झिक्ने राजपा केन्द्रीय सदस्य बीपी यादव र हरि मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ का सडकमा माटो भर्ने तथा ग्राभेल गर्न उनीहरुले कीर्ते उपभोक्ता समिति बनाएर २५ लाख रुपैयाँ निकालेका थिए ।

कीर्ते आरोपमा प्रहरीले गत वैशाख ५ गते यादव र मण्डललाई पक्राउ गरेको थियो । यादव संविधानसभाको सदस्य हुँदा पनि रातो पासपोर्ट दुरुपयोग काण्डमा मुछिएका थिए ।

अर्का केन्द्रीय सदस्य मण्डल स्थानीय शान्ति समिति, सप्तरीका पूर्व संयोजक हुन् । सोही योजनामा कीर्ते गर्ने पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र राजपाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

यादव र मण्डलले अग्निसाइर कृष्णसवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप कीर्ते गरी उपभोक्ता समिति गठन गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार