नयाँदिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएकाे छ । भारतको तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको केही घन्टा नबित्दै प्रधानमन्त्री मोदीले पदबाट राजिनामा दिनुभएकाे हाे ।
मोदीले शुक्रबार साँझ राष्ट्रपति रामनाथ कोविन्द राजीनामा बुझाउनुभएकाे हाे । यसअघि मोदीले शुक्रबार साँझ मन्त्रीपरिषद्को अन्तिम बैठक डाक्नुभएकाे थियाे । बैठकले मन्त्रिपरिषद्को संयुक्त राजीनामासँगै १६ औं लोकसभाको औपचारिक विघटनका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ।
राजीनामासँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । आगामी साताभित्र नयाँ सरकार गठन हुने अनुमान गरिएको छ । नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ‘कामचलाउ सरकार’का रुपमा काम गर्नेछ।
हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले अत्यधिक बहुमत ल्याएको हो । अन्तिम मतपरिणामअनुसार एनडिएले ३५० सिट जितेको छ । र, भाजपा एक्लैले ३०२ सिट जित्न सफल भएको छ । विपक्षी भारतीय राष्ट्रिय कांग्रेस भने ५२ सिटमा सीमित भएको छ । भाजपा र एनडिएको ऐतिहासिक जितसँगै नरेन्द्र मोदीले विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रको संघीय सरकारको नेतृत्व गर्ने पक्कापक्की छ ।