जेठ १५ बाट खुल्दै खण्डहर बनेको तातोपानी नाका, यस्तो छ तयारी

चार वर्षअघि भू–कम्पले क्षत–विक्षत बनाएपछि बन्द रहेको तातोपानी नाका जेठ १५ देखि सञ्चालन गर्ने तयारी जोडतोडले भइरहेको छ । नाका पुनः सञ्चालन हुने खबरले स्थानीयसहित व्यवसायी खुसी छन् । तर, पटक–पटक प्राकृतिक विपद्ले दिएको सास्ती उनीहरुले बिर्सन सकेका छैनन् । तातोपानीले एकपछि अर्को विपद् खेप्दै आयो । र, तिमध्ये सबैभन्दा ठूलो २०७२ सालको भूकम्प ।

भूकम्पले साविकको तातोपानी र फुल्पिङकट्टी गाविसमा मात्रै ६४ जनाको ज्यान लिएको थियो । कोदारी राजमार्ग क्षत–विक्षत बनाएको थियो भने तातोपानी बजारका बस्ती खण्डहरु । सवारी साधन सडकमै पुरिएका थिए । भू–कम्पपछि बस्नै नसक्ने भएपछि स्थानीयले थातथलो छोडे ।

भू–कम्पपछि तातोपानी नाका पूर्णत बन्द भयो । त्यसपछि पनि तातोपानी क्षेत्रले विपद् सामना नगरेको भने होइन । २०७३ असार तेस्रो साता अविरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी आउँदा तातोपानी लिपिङका १५ घर बगायो । बाढीका कारण नेपाल चीन मितेरी पुलदेखि तातोपानी हुँदै बाह्रबिसे सम्मको सडकखण्ड अन्तर्गत अरनिको राजमार्गका विभिन्न स्थानमा क्षति पुग्यो ।
२०७४ साउनको दोस्रो साता फुल्पिङकट्टी र तातोपानी जोड्ने भोटेकोशी नदीको करिब ७० मिटर लामो लार्चाको पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचियो । र, आवागमन बन्द भयो ।

यसअघि २०७१ साउन दोस्रो साता साविक मांखा गाविसको बनसाँधुमा इटनी भीर खस्दा लामो समयसम्म तातोपानी नाका प्रभावित भयो । २०७१ साउनदेखि प्रभावित हुँदै आएको तातोपानी नाका भू–कम्पपछि पूर्णरुपमा बन्द भयो । र, १७ गतेदेखि नाका पुनः सञ्चालन हुँदै छ । त्यसका लागि सरकारी प्रतिनिधिको आवत–जावत बाक्लिएको छ ।

भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्रमा चहल–पहल क्रमशः बढ्न थालेको छ । भत्किएका घर र संरचनालाई मर्मत सम्भार गर्दै स्थानीयवासी नाका खुल्ने खबरसँगै उत्साहित मात्रै भएका छैनन, आर्थिक उपार्जनको बाटो पुनः खुल्न लागेकोमा खुसी छन् ।

नाका खोल्ने तयारीपछि अहिले ६ वटा कन्टेनर नेपाल आउनका लागि चीनको खासा क्षेत्रमा तयारी अबस्थामा छन् । १५ गते चीनले ऊनसहितका ति कन्टेनर नेपाल पठाएर नाका सञ्चालनमा आएको सन्देश दिने छ ।

तर, नाका पूर्ण रुपमा सञ्चालन हुन सडक र अन्य पूर्वाधार बाधक बन्ने छ । गत मे को पहिलो साता तातोपानी नाका सञ्चालन गर्ने योजना रहेपनि मितेरी पुल निर्माणमा ढिलाई भयो । अहिले मितेरी पुलको काम तीव्र रुपमा भइरहेको छ ।

भूकम्पले भत्काएको मितेरी पुलको संरचना यथावतै राखेर केही तल चीनले नयाँ पुल बनाइरहेको छ । पुरानो मितेरी पुल बन्द गरिएको छ । भूकम्प र बाढीले तहसनहस बनाएको सीमा क्षेत्रको दुवैतर्फका सडक लगायतका भौतिक संरचना निर्माणको कामलाई गति दिइएको छ ।

चिनियाँ कम्पनी रेल्वे कन्स्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी)ले सीमाबाट नेपालतर्फ बाह्रबिसेसम्मको साढे २४ किलोमिटर सडक रातदिन गरेर बनाइरहेको छ । अन्य सडक निर्माणको काम डिभिजन सडक कार्यालय दोलखाले गरिरहेको छ ।

नाका पूर्णरुपमा सञ्चालन गर्न नेपालले गर्नुपर्ने काम धेरै छन् । त्यसैले त केही दिन अगाडि चिनियाँ राजदूतले पूर्णरुपमा नाकासञ्चालनमा नेपाल सरकारको सक्रियाता महत्वपूर्ण हुने औंल्याएकी थिइन् । आफ्नो तर्फबाट गर्नुपर्ने निर्माणमा नेपालले वेवास्ता गरिरहेको स्थानीय जनप्रतिनिधिको पनि बुझाइ छ ।

भूकम्पका कारण तातोपानीमा रहेका सम्पूर्ण संरचनामा क्षति पुगेपछि नाका बन्द थियो । नाकामा आवश्यक सबै संचरना निर्माण भइसकेका छन् । अध्यागमन कार्यालय, भन्सार कार्यालय र सुरक्षा निकायका कार्यालय खडा भइसकेका छन् । नाका खुलेपनि यहाँबाट मानिसको आवत–जावत भने तत्काल हुने छैन ।

अहिले नेपालतर्फ सुख्खा बन्दरगाह निर्माण सकिएको छ । निर्माण सम्पन्न सुख्खा बन्दरगाह अन्तराष्ट्रिय स्तरको छ । बन्दरगाहमा १ सय ५८ ठूला कन्टेनर र २३ भन्दा बढी कार अट्ने गरी निर्माण गरिएको हो ।

सुख्खा बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालयहरु पनि निर्माण भएका छन् । नवनिर्मित बन्दरगाहको निर्माण २०७० पुसदेखि सुरु गरिएको थियो । ३० महिनाभित्र काम सक्ने लक्ष्य भएपनि भूकम्प र भोटेकोशी नदीको बाढीका कारण बन्दरगाह ढिलागरी निर्माण सकिएको हो ।

यस्तै, चीनतर्फको खासा बजार र अन्य क्षेत्रको मर्मत संभारदेखि स्तरोनन्नतीको काम भइरहेको छ । अब नाका खुले पनि पहिलेको मुख्य बजार लिपिङ ब्यापारिक केन्द्र हुने छैन । किनभने अब सस्माबाट आउने सामान यही सुख्खा बन्दरगाहमा ल्याइने छ । र ब्यापारिक कारोबार पनि यहीँबाट हुनेछ ।

लिपिङ बजारमा अहिले सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कार्यालय, अध्यागमन र भन्सार कार्यालयका बोर्डहरु मात्र छन् । सबै सरकारी कार्यालय लार्चा सरेका छन् । चीनले लिपिङका घरहरु हटाएर सडक फराकिलो बनाइदिन चाहे पनि नेपाल पक्षबाट सहयोग भएको छैन ।

तातोपानी नाका सञ्चालनको तयारी हुँदै गर्दा यस क्षेत्रका स्थानीय र व्यापारी–व्यावसायीहरु उत्साहित छन् । विगतका कमी कमजोरीलाई पाठको रुपमा लिएर अब कहिल्यै बन्द नहुने गरी नाका सञ्चालन गर्नुपर्ने ब्यबसायीहरु बताउँछन् ।

यस्तै, प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेत सुविधा सम्पन्न डाइपोर्ट बनेकोले नाका सञ्चालनका लागि सहज हुने बताउँछन् । नाकाको स्थलगत निरीक्षणका लागि शनिबार गृहमन्त्री रामबहादुर थापा र सोही क्षेत्रबाट चुनाव जितेका नेकपा सांसद अग्नी सापकोटा सहितको सरकारी टोली तातोपानी पुगेका थिए ।

नाकाको स्थलगत निरीक्षणपछि गृहमन्त्री थापाले सीमाक्षेत्रमा कुनैपनि अवाञ्छनिय गतिविधि हुन नदिन स्थानीय सुरक्षा संयन्त्र र स्थानीय सरकारका प्रतिनीधिहरुलाई निर्देशन दिए । नेकपा नेता सापकोटाले नाका पूर्ण रुपमा ब्यबस्थित तबरले सञ्चालन हुने संकेत देखिएको र अब पूर्वाधार निर्माणलाई सँगसँगै लैजाने बताएका छन् ।

‘तस्करी’को मार्ग भनेर बदनामी कमाएको यस नाकालाई ब्यवस्थित बनाउन जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चोकले तदारुकता देखाएको छ । नाकामा हुने अबाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षाका सम्पूर्ण अंग परिचालन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताएका छन् ।

तातोपानी नाका नेपालको अर्थतन्त्रको ‘लाइफलाइन’ मानिन्छ । बार्षिक ८ अर्बको बराबरको राजस्व संकलन हुने तातोपानी नाका बन्द हुँदा राज्यले ठूलो आर्थिक घाटा व्यहोर्नु परेको सरकारी भनाइ छ । त्यसैले नाकाको सांकेतिक सञ्चालनलाई पूर्णरुप दिन आवश्यक छ । विगतमा ठूलो बदनामी र सुरक्षा संवेदनशिलता खेपेको यो नाकालाई व्यवश्थित बनाउन पनि जरुरी छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार